८ जेष्ठ २०८१, मंगलवार

कैलाली कांग्रेसले गर्यो वागी उम्मेद्वारलाई कारवाही



धनगढी / सत्तारुढ गठवन्धनको विरुद्ध उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता कार्यकर्ता कारवाहीमा परेका छन् ।

कांग्रेसले गठबन्धन दलका आधिकारिक उम्मेदवार विरुद्ध वागी उम्मेदवार भएका उम्मेदवार र उनका प्रस्तावक, समर्थकहरुलाई पार्टीबाट निष्कासन गरेको हो ।

आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा कांग्रेसका आधिकारिक उम्मेदवार र सत्तारुढ गठबन्धन पार्टीका आधिकारीक उम्मेदवार विरुद्ध उम्मेदवारी दिएकालाई कारवाही गरिएको जनाएको हो ।

सत्तारुढ गठबन्धन दलहरु र मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीबीच भएको सहमति अनुरुप आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिएर तोकिएको मितिमा उम्मेदवारी फिर्ता नलिएका प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सभाका उम्मेदवारलाई कारवाही गरिएको कांग्रेस सभापति नारायणदत्त भट्टद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

उम्मेद्वारसहित प्रस्तावक र सर्मथकलाई नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ (१) (घ) उल्लंघन गरेकोमा धारा ३४ (४) (क) अनुसार तपसिलका व्यक्तिहरुलाई नेपाली काँग्रेसको साधारण सदस्य समेत नरहने गरेर पाँच वर्षका लागि पार्टीको केन्द्रीय कार्य समितिले निष्कासन गरेको व्यवहोरा अवगत गराउँदछौं, काग्रेस कैलालीका सभापति भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

कारवाहीमा पर्नेमा कैलाली क्षेत्र नम्बर २ (ख) का भरतकुमार शाही र उनका समर्थक कमलकुमार विक, क्षेत्र नम्बर ३ का नविनकुमार बोहरा सोही क्षेत्रको प्रदेश (ख) का उम्मेद्वार गोविन्दराज जोशी उनका प्रस्तावक कमलबहादुर वडुवाल र समर्थक देवीराम खत्री क्षेत्र नम्बर ३ (ख) कै लक्ष्मण शाही, क्षेत्र नम्बर ४ (ख) का भगवती पाठक ओझा, क्षेत्र नम्बर ५ (ख) का क्षितिज भण्डारी र क्षेत्र नम्बर ५ मा संघीय स्वतन्त्र उम्मेदवारको समर्थक बसेका नवराज जोशीलाई कारवाही गरिएको छ ।

कैलाली क्षेत्र नम्बर ५ मा संघीय सांसदका लागि स्वतन्त्र उम्मेदवार पुस्करनाथ ओझा छन् । स्वतन्त्र उम्मेदवार ओझालाई भने ०७४ को चुनावमा नेतृ आरजु राणा देउवालाई असहयोग गरेको आरोपमा दुई वर्षअघि कारवाही गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार