२२ बैशाख २०८१, शनिबार

कैलाली १ मा एमालेले तोक्यो चुनावी कमाण्डर



विजयको यात्रामा अगाडि बढ्न प्रदेश सचिव पाठकको निर्देशन


टीकापुर / नेकपा एमालेले कैलाली क्षेत्र नम्बर १ मा चुनाव परिचालनका लागि जिम्मेवारी तोकेको छ ।

नेकपा एमाले क्षेत्रिय समन्वय कमिटी कैलालीको आयोजनामा आज टीकापुरमा भएको भेलाले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन क्षेत्र नम्बर १ का लागि र दुबै तर्फका प्रदेशका लागि मूल परिचालन समिति कमिटी बनाएको हो ।
भेलामा कैलाली १ मा एमालेसँग तालमेल गरेको जनता समाजवादीका नेताहरुको समेत सहभगिता रहेको थियो ।

भेलाले एक हजार १५ सदस्यीय क्षेत्र नंम्बर १ निर्वाचन परिचालन मूल समितिको संयोजकमा प्रेमबहादुर साँउद, उपसंयोजक डिल्ली जोशी र सचिवमा मातृका तिमिल्सैनालाई जिम्मेवारी तोकको हो । निर्वाचन मूल परिचालन समितिको संयोजक, उपसंयोजक र सचिवको जिम्मेवारी पाएका तीनै जना एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सदस्यहरु हुन ।

भेलाले प्रदेश कमिटी सदस्यहरुलाई मूल परिचालन समितिको सचिवालय सदस्यको जिम्मेवारी दिएको छ ।
यस्तै प्रदेश नं.१ तर्फको मूल परिचालन समितिको संयोजकमा प्रेम चौधरी, उपसंयोजकमा गणेश पाठक र सचिवमा राजु बम रहेका छन् । चौधरी एमाले प्रदेश कमिटी सदस्य हुन भने पाठक कैलाली जिल्ला कमिटी सदस्य हुन । यस्तै वम जनता समाजवादी पार्टीको प्रदेश सचिव हुन ।

प्रदेश ख मा भने मूल परिचालन समितिको संयोजक श्याम खत्री, उप संयोजकमा खडक साउद र सचिवमा रामकृष्ण चौधरी रहनु भएको छ । खत्री जिल्ला सचिवालय सदस्य हुन भने साउद र चौधरी जिल्ला कमिटी सदस्य हुन ।

भेलामा निर्देशन दिदै नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटीका सचिव धर्मराज पाठकले देशको स्वाभिमान र विकासका लागि एमालेको जित अनिवार्य रहेकोले जनताको घर आगनमा गएर विजय अभियान शुरु गर्न आग्रह गरे ।

पाठकले एमालेले विगतमा गरेको जनपक्षिय कामहरुलाई लिएर जनताका बिचमा जानु पर्ने बताउदै एमालेको सरकार नभएर देश विकास हुन नसक्ने बताए ।

कार्यक्रममा बोल्दै कैलाली क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका उम्मेद्धार तपेन्द्र रावलले आफूलाई जनताले मत दिएर जिताएमा इमान्दार पूर्वक जनता र देशको सेवा गर्ने बताए ।

कार्यक्रममा बोल्दै प्रदेश २ का एमाले उम्मेद्धार द्धारिका न्यौपानेले टीकापुरको विकासका लागि दीर्घकालिन योजना हुनुपर्ने र त्यसको कार्यान्वयन गर्न इमान्दार नेतृत्व आवश्यक रहेको बताए । उनले आफू निर्वाचित भएमा टीकापुरको मुहार बदल्न लाग्ने बताए ।

कार्यक्रममा बोल्दै जनता समाजवादी नेपालका उम्मेद्धार भगतराम चौधरीले एमाले र जनता समाजवादीबिचको सहकार्यले टीकापुरको विकासमा योगदान पुग्ने भएकाले या तालमेल अनुसार मत खसाउन अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार