२२ बैशाख २०८१, शनिबार

लक्ष्मण चौधरीको उम्मेदवारी खारेज हुने निर्णय



टीकापुर / मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीले कैलाली क्षेत्र नम्बर ५ बाट नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्नुभएका लक्ष्मण चौधरीको उम्मेदवारी खारेज भएको निर्णय गरेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीले लक्ष्मण चौधरीलाई उच्च अदालत दीपायलले २०७७ पुस २ गते गरेको फैसला अनुसार पाँच वर्ष कैद हुने फैसला सुनाएको तर चौधरीले फैसला विरुद्ध पुनरावेदन पनि नगरेको र अदालतमा हाजिर हुने म्याद पनि गुजारेकाले उम्मेदवारी खारेज हुने निर्णय मंगलबार सार्वजनिक गरेको छ । चौधरी २०७२ भदौमा टीकापुरमा भएको हिंसात्मक घटनाका संलग्न भई दोषीका रुपमा फरार सूचिमा रहेका छन् ।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालत कैलालीका न्यायधीश ओमप्रसाद अर्यालले मंगलबार निर्णय दिएका हुन । चौधरी विरुद्ध स्वतन्त्र उम्मेदवार रामबहादुर सिंहले असोज २४ गते ‘कर्तव्य ज्यान मुद्दामा दोषी ठह¥याई सजाय सुनाइएका फरार व्यक्ति उम्मेदवार हुन नसक्ने’ भनी उजुरी दिनुभएको थियो ।

मुख्य न्यायधिश अर्यालले अदालतले तोकेको कैद भुक्तान नगरेको र प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन ऐन २०७४ को दफा १३ (छ) को व्यवस्था अनुसार सजाय भुक्तान भएको छ वर्षसम्म उम्मेदवार हुन नपाउने व्यवस्था अनुसार उम्मेदवारी नरहेकाले उम्मेदवारी दर्ता गर्दा लागेको धरौटी रकम बुझी लैजान चौधरीका वारेस बुँन्दिलाल चोधरीलाई जानकारी गराउने निर्णय गरेको छ । उम्मेदवार चौधरीले वारेसमार्फत उम्मेदवारी दर्ता गराउनु भएको थियो ।

वारेस चौधरीले संविधानले दिएको अधिकार प्रयोग गरी उम्मेदवारी दर्ता गरिएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार