१७ बैशाख २०८१, सोमबार

कञ्चनपुर २ मा जगदिश अवस्थीले दर्ता गरे स्वतन्त्र उम्मेदवारी, एनपी साउदसँग भिड्ने



कञ्चनपुर / ईन्जिनियर जगदिश अवस्थीले कञ्चनपुर क्षेत्र नम्बर दुईबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

मंसिर ४ गते हुने निर्वाचनमा प्रतिस्पर्धा गर्न अवस्थीले शुक्लाफाँटा नगरपालिकास्थित क्षेत्र नम्बर २ को निर्वाचन कार्यालय पुगेर आइतबार विहान उम्मेदवारी दर्ता गराएका हुन् ।

अवस्थीले हाम्रो नेपाली पार्टीले होल्ड गरेको लौरो चुनाव चिन्ह लिएर चुनाव लड्नेछन् । उक्त पार्टीसँग अवस्थीले चुनाव चिन्ह प्रयोग गर्न अनुमति लिइसकेका छन् । लौरो चिन्हबाट काठमाडौंमा बालेन शाह र धरानमा हर्क साम्पांग मेयरमा निर्वाचित भएका थिए ।

कञ्चनपुर २ मा स्वतन्त्र उम्मेदवार ईन्जिनियर अवस्थीको प्रतिस्पर्धा नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री एनपी साउद र एमालेका निवर्तमान सांसद नरबहादुर धामीसँग हुनेछ । अवस्थी विगतमा कांग्रेसमा पनि सक्रिय थिए ।

उनले कांग्रेसलाई सुदृढ बनाउन प्रयास गरेको र नसकेपछि परिवर्तनमा बाहिरिएको बताउँदै आएका छन् । उम्मेदवारी दर्तापछि उनले क्षेत्र नम्बर २ मा सुशासन कायम गर्न, विकासको पारदर्शी शैली स्थापित गर्न र जिम्मेवार तथा उत्तरदायी जनप्रतिनिधिको नमूना आफू चुनावी मैदानमा आएको बताए ।

व्यवस्थासँगै समाज र जनजीवनको अवस्था बदल्ने अभियानमा हातेमालो गर्दै आफू अगाडि बढेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार