२४ बैशाख २०८१, सोमबार

प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवाद्वारा डडेल्धुरामा उम्मेदवारी दर्ता



धनगढी / नेपाली काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा सदस्यका लागि डडेल्धुराबाट उम्मेदवारी दर्ता गराएका छन् ।

उनले वारेसनामा मार्फत आज आइतबार उम्मेदवारी दर्ता गराएका हुन् । सभापति देउवाको तर्फबाट उनका श्रीमती आरजू राणा देउवाले वारेसनामासहित मनोनयनपत्र दाखिला गराइन् ।

एक प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा नेकपा एमालेको समर्थनमा नेपाली काँग्रेस (वीपी) का नेता कर्ण मल्लले उम्मेदवारी दर्ता गराउँदैछन् ।

काँग्रेस डडेल्धुराका निवर्तमान सभापति तथा प्रदेश सभा सदस्य समेत रहेका मल्लसहितले काँग्रेसको गत १४ औं महाधिवेशनमा क्रियाशील सदस्यतासम्बन्धी विवादबीच महाधिवेशन बहिस्कार गरेका थिए । काँग्रेसले उनलाई पार्टीको साधारण सदस्यताबाट निष्कासन गरेपछि उनी काँग्रेस वीपीमा आवद्ध भएका हुन् ।

प्रतिनिधि सभा सदस्यका लागि राप्रपाबाट गोविन्द खडायत तथा अन्य तीन जनाले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएका छन् । एमालेका नेता विक्रमबहादुर शाही, कर्णसिंह रावल र सागर ढकालले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।

पाँच दलीय सत्ता गठबन्धनबाट डडेल्धुरामा प्रतिनिधि सभा सदस्य काँग्रेस तथा प्रदेश क मा नेकपा माओवादी केन्द्र तथा ख मा नेपाली काँग्रेसलाई दिने सहमति भएको थियो ।

पाँच दलीय गठबन्धनबाट प्रदेश क मा माओवादी केन्द्रका खगराज भट्ट र ख मा काँग्रेसका गोविन्दराज बोहराले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार