४ जेष्ठ २०८१, शुक्रबार

कैलाली ५ बाट ओझाको स्वतन्त्र उम्मेदवारी दर्ता




धनगढी/ नेपाली कांग्रेसका नेता तथा पूर्व सञ्चार राज्यमन्त्री पुस्करनाथ ओझाले कैलाली क्षेत्र नम्बर ५ बाट आइतबार उम्मेदवारी दिएका छन् ।

ओझा टीका र जमरा लगाएर उम्मेदवारी दर्ता गर्न आइतबार दिउँसो ११ः ३० बजे निर्वाचन कार्यालय पुगेका थिए ।

धनगढी सहितको क्षेत्र नम्बर ५ ले उपयुक्त उम्मेदवार नपाएको भन्दै आफूले उम्मेदवारी दर्ता गरेको उनले बताए । यसअघि पनि उनले पत्रकार सम्मेलन गरेर धनगढीका मतदाता विकाउ माल होइनन् भन्दै यस क्षेत्रका मतादाताको स्वाभिमान जोगाउन उम्मेदवारी दिएको बताएका थिए ।

ओझा ०५६ को आम निर्वाचन तत्कालिन कैलाली क्षेत्र नम्बर ३ र ०७१ को उपचुनावमा क्षेत्र नम्बर ६ (हालको ५) बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । ०५६ मा चुनाव जितेपछि उनलाई केही महिना सञ्चार राज्यमन्त्री पनि बनाइएको थियो ।

ओझालाई गत चुनावमा कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेकी कांग्रेस नेतृ आरजु राणा देउवालाई असहयोग गरेको आरोपमा दुई वर्ष अघि पार्टी सदस्य नरहने गरेर कारवाही समेत गरिएको छ ।

नेता ओझाको उम्मेदवारी दर्ता कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालका भाइ श्याम हमाल र कांग्रेस कार्यकर्ताको उपस्थिति थियो । गत स्थानीय चुनावमा हमाल पनि स्वतन्त्र उम्मेदवारकै रुपमा विजयी भएका थिए ।

यसपटकको निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसले हालका प्रदेश सभा सदस्य डिल्लीराज पन्तले उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार