८ जेष्ठ २०८१, मंगलवार

आसन्न प्रतिनिधि सभा निर्वाचन : पूर्व राज्यमन्त्री ओझाद्वारा कैलाली ५ मा स्वतन्त्र उम्मेदवारी घोषणा



ओझाले भने– कैलाली–५ का नागरिकको आत्मसम्मान रक्षाको कर्तत्वबोध

धनगढी / नेपाली काँग्रेसद्वारा कारबाही गरिएका पूर्व राज्यमन्त्री पुष्करनाथ ओझाले कैलाली–५ बाट आगामी निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । उनले आगामी निर्वाचनमा स्वतन्त्र रुपमा प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्ने घोषणा गरे ।

२०७४ सालको निर्वाचनमा पार्टीको उम्मेदवारलाई असहयोग गरेको आरोप लगाएर काँग्रेसले उनलाई दुई वर्षअघि पाँच वर्षका लागि कारबाही गरेको थियो ।

आज शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा ठूलो सङ्ख्यामा काँग्रेसका नेता कार्यकर्ता र विभिन्न क्षेत्रका प्रतिनिधिहरुको उपस्थितिमा ओझाले धनगढीका मतदाताको आत्मसम्मानको रक्षा गर्नुपर्ने कर्तव्यबोधबाट प्रेरित भएर आफूले स्वतन्त्र रुपमा उम्मेदवारीको घोषणा गरेको बताए ।

उनले भने– मलाई कैलालीका जनताले दुई पटक जनप्रतिनिधि (सांसद) निर्वाचित गर्नुभयो । उहाँहरुको विश्वास र आत्मसम्मानको रक्षा गर्नु मेरो दायित्व हो । यसका लागि आगामी निर्वाचन मेरा लागि राम्रो अवसरका रुपमा आएको छ । उनी ०५६ सालमा कैलाली क्षेत्र नम्बर ३ र ०७१ को उपचुनावमा धनगढी क्षेत्र नम्बर ६ (हालको ५ ) बाट निर्वाचित भएका थिए ।

उनले धन, बल, शक्तिको आडमा मतदातालाई प्रभावित पार्न सकिन्छ भन्ने प्रवृत्तिका मान्छे अहिले देशका विभिन्न क्षेत्रबाट उम्मेदवार बन्ने प्रयासमा रहेको तर्क गरे । भने– मतदाता बिकाउ मालसामान हो भन्ने ठान्नेहरु व्यागमा टन्न पैसा बोकेर चुनाव क्षेत्रको खोजीमा लागेका छन् । यस्तै, प्रवृत्ति कैलाली–५ मा पनि देखिएको छ । यस्ता प्रवृत्तिहरुलाई चुनावबाटै परास्त गर्नु जरुरी छ । किनकि कैलाली ५ का जनता विकाउ मालसामान होइनन् ।

२०३४ सालदेखि नेविसंघबाट काँग्रेसको राजनीतिमा अनवरत लागेका ओझाले नेपालका राजनीतिक नेतृत्वको गलत सोच, व्यवहार र क्रियाकलापका कारण हरेक क्षेत्र दूषित बनेको आरोप लगाए । भने– लामो संघर्षबाट स्थापना गरेको बहुदलीय संसदीय लोकतान्त्रिक पद्धति बलियो बनाउनु हामी सकेको दायित्व हो, तर पछिल्ला वर्षहरुमा बढेका राजनीतिक विकृति बिसंगती समाप्त पार्न अहिलेको नेपाली राजनीतिक नेतृत्व पंक्तिलाई “शक ट्रिटमेन्ट दिनु अनिवार्य भइसकेको छ । हरेक पुस्ताले विद्रोह गर्नु जरुरी छ ।

सञ्चारकर्मीहरुको एक जिज्ञासामा उनले कैलाली ५ मा अहिले चर्चामा रहेका उम्मेदवारहरुमध्ये आफू सबैभन्दा उपयुक्त पात्र भएको दाबी गरे । उनले हरेक दलमा असन्तुष्ट नेताकार्यकर्ता र मतदाताको साइज निकै ठूलो रहेको आफूले महसुस गरेको बताए ।

उनले धनगढी शहरसहित कैलाली–५ को समृद्धिको खाकासहित आफू चुनावी मैदानमा उत्रिएको बताए । उनले भने– मैले विश्वका विकसित शहरहरु जस्तै कल्पना गरेको सुन्दर र समृद्ध धनगढी शहर निर्माण गर्ने अठोट लिएको छु ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार