१३ बैशाख २०८१, बिहीबार

काँग्रेसको समानुपातिक सूचीबाट सुदूरपश्चिमका आठ जनालाई हटाइयो




धनगढी / नेपाली काँग्रेसले निर्वाचन आयोगमा पहिलो पटक बुझाएको प्रतिनिधि सभाको समानुपातिका सूचीमा सुदूरपश्चिमका १३ जना समेटिएकोमा संशोधित सूचीमा आठ जना मात्र परेका छन् ।

समानुपातिक सूचीमा खुला महिलातर्फबाट कैलालीका ईश्वरी न्यौपाने, डडेल्धुराका आरजु राणा देउवा, डोटीका प्रसिस महरा, यस्तै गरेर थारु महिलाबाट जीवन रानाथारु, थारु पुरुषमा कैलालीकै फिरु राना, पिछडिएको क्षेत्रबाट बझाङका नरेशबहादुर सिंह, जनजाति/आदीबासीबाट दार्चुलाका ललितसिंह बोहरा, दलितबाट अछामका डम्मरसिंह सुनार र बाजुराका महा नेपाली छन् ।

कैलालीका न्यौपाने, कैलालीकै फिरु राना, डोटीका प्रसिस महरा, र बाजुराका महा नेपाली यसअघिको सूचीमा थिएनन् ।

अघिल्लो सूचीमा रहेका आठ जनालाई भने हटाइएको छ । सूचीबाट हटाइएकामा शुशिला मिश्र भट्ट, लोकराज अवस्थी, भरत स्वाँर , जनकबहादुर वम, विद्या तिमिल्सेना, टेकबहादुर नाम्जाली मगर , रामकुमारी चौधरी र खेम चौधरी छन् ।

हटाइएका कतिपयलाई प्रदेशको समानुपातिकामा राखिएको बताइएको छ तर प्रदेशको सूची सार्वजनिक हुन सकेको छैन । कांग्रेस स्रोतका अनुसार प्रतिनिधि सभाको समानुपातिक सूचीमा हटेका कतिलाई प्रदेशको समानुपातिक सूचीमा राखिएको छ भने कतिलाई प्रदेश सभाको प्रत्यक्षतर्फको उम्मेदवार बनाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार