१३ बैशाख २०८१, बिहीबार

विक चौथो पटक समानुपातिक सूचीमा समेटिए




धनगढी / सुदूरपश्चिम प्रदेशका दलित अगुवा गणेश विक सङ्घीय संसदको प्रतिनिधि सभा सदस्यका लागि फेरि समानुपातिक सूचीमा परेका छन् ।

विक नेकपा (एकीकृत समाजवादी) बाट समानुपातिक सूचीमा समेटिएका हुन । यसअघि तीन पटक समानुपातिक सूचीमा परे पनि उनी सो प्रणालीबाट निर्वाचित हुन सकेका थिएनन् ।

५२ वर्षीय विक यसअघि नेकपा (एमाले) बाट ०६४ र ०७० संविधान सभा सदस्यमा र ०७४ मा प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक सूचीमा परेका थिए ।

एमाले विभाजनपछि माधव नेपाल नेतृत्वमा रहेको नेकपा (एकीकृत समाजवादी) मा लाग्नु भएका सो पार्टीका पोलिटव्युरो सदस्य विक त्रिभुवन विश्वविद्यालयबाट राजनीतिकशास्त्रमा विद्यावारिधी गरिरहेका छन् ।

सुदूरपश्चिमको विकट पहाडी जिल्ला बझाङमा जन्मेका विक धनगढी उपमहानगरपालिकाको मतदाता हुन । उनले यसपटक समानुपातिक भन्दा प्रत्यक्षबाट चुनाव लड्न खोजेका थिए तर उनको पार्टीले गठवन्धनका कारण उम्मेदवार बनाउन सकेन ।

उनले भने, “मैले आरजू राणा देउवा चुनावमा नउठ्ने भएपछि मलाई कैलाली क्षेत्र नम्बर ५ बाट गठवन्धनको उम्मेदवार बनाउन पार्टी अध्यक्ष माधव नेपाललाई भनेको थिए तर परिस्थितिले साथ दिएन त्यसैले फेरि समानुपातिक उम्मेदवार बन्ने अवस्था आएको छ” ।

विद्यार्थी राजनीति हुँदै पार्टीको नेतृत्वमा पुगेका विक राष्ट्रिय दलित नेटवर्क नामक संस्थाबाट हलिया मुक्तीका र पुर्नस्थापनाका लागि समेत लामो समयदेखि कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार