६ बैशाख २०८१, बिहीबार

मार्तडी–साँफे सडक अझैं सञ्चालनमा आएन



धनगढी । दशैंअघि नै सडक यातायात सञ्चालन गर्ने भनिए पनि बाजुराको मार्तडीदेखि अछामको साँफेबगरसम्मको सडक अझैं सञ्चालनमा आउन सकेको छैन ।

सो सडक खण्ड हरेक वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध हुने गरेको छ । यस वर्षको बाढी र पहिरोका कारण सो सडकको विभिन्न खण्ड बिग्रिएको छ ।

मार्तडी–साँफे सडकको बल्दे अम्कोट खण्ड सबैभन्दा बढी क्षतविक्षत छ । सडक डिभिजन कार्यालय, अछामले बल्दे अम्कोट सडकखण्डमा पटक पटक खसेको पहिरोका कारण मर्मतसम्भार गर्न निकै समस्या भएको बताउँदै आएको छ ।

सडक डिभिजन कार्यालय, अछामले दशै अघि नै यातायात सञ्चालनमा ल्याउने लक्ष्यसहित सडक निर्माण कार्य जारी राखेको भए पनि अझै काम पुरा हुनसकेको छैन ।

स्थानीयका अनुसार यस वर्ष असारदेखि नै पहिरोको कारण मार्तडी–साँफे सडकमा यातायात अवरुद्ध रहेको छ ।

सडक डिभिजन कार्यालय अछामका प्रमुख दिवस बस्नेतका अनुसार बल्दे अम्कोट सडकमा पटक पटक खसेको पहिरोले सडक तहसनहस भएकोले काम गर्न कठिनाई भइरहेको छ । उनले भने– वर्षा रोकिएकोले केही दिन भित्रै पहिरो पन्छ्याएर दशैअघि नै यातायात सञ्चालनमा ल्याउने भनेका थियौं, तर सडक माथिबाट पहिरो बग्न अझैं नरोकिएकोले काम गर्न निकै समस्या भइरहेको छ ।

मार्तडी–साँफे सडकको बल्दे अम्कोटमा हरेक वर्ष तल र माथिबाट पहिरो खस्ने क्रम नरोकिएपछि विकल्पका रुपमा अम्कोट गाउँबाट सडक बनाउने काम पनि शुरु गरिएको छ । तर, सो सडक बन्न निकै समय लाग्ने भएकोले हाललाई बल्दे अम्कोटको पहिरो पन्छाएर बाटो खोल्ने प्रयास भइरहेको छ ।

त्यस्तै, बाजुराका ग्रामीण सडकहरू पनि अझैं सञ्चालनमा आउन सकेका छैनन् । चार महिनादेखि मार्तडी–साँफे सडक अवरुद्ध भएका कारण धनगढी, महेन्द्रनगर, अत्तरिया लगायतका स्थानबाट बाजुरा आउने यात्रुवाहक बसहरू बल्देमा रोकिने गरेका छन् ।

सो सडक सञ्चालनमा आउननसकेका कारण जिल्लाको बडिमालिका तथा बुढिनन्दा नगरपालिका र गौमुल, स्वामिकार्तिक, जगन्नाथ र हिमाली गाउँपालिकाका यात्रुहरूलाई आवतजावत गर्न समस्या भएको छ । भने दैनिक उपभोग्य सामग्री ढुवानीमा पनि कठिनाई भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार