१६ चैत्र २०८०, शुक्रबार

गुणस्तरलाई महत्व दिएर काम गर्नुस्– मन्त्री सोडारी



धनगढी / सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले गुणस्तरलाई ध्यानमा राखेर सडक निर्माण कार्य छिटोछरितो ढंगले पूरा गर्नुपर्ने बताएका छन् ।

शनिबार कैलाली–४ प्रदेश सभा (क) क्षेत्रमा सञ्चालित सडक निर्माण कार्यको अनुगमन गर्ने क्रममा मन्त्री सोडारीले निर्माण कार्यमा ढिलासुस्ती गरिए कारबाहीको भागी हुनुपर्ने बताए ।

कैलाली–४, प्रदेश सभा क्षेत्र (क) मा ५० लाख रुपैयाँको लागतमा गोदावरी नगरपालिका– ९ वल्मी रिङरोड, गौरीगंगा नगरपालिका ६ वनबेहडा, कटौथी प्रतिक्षालय हुँदै धनगढी सरौटा जोड्ने पाँच किलोमिटर सडक, गौरीगंगा २ र ३ मा निर्माणाधीन साढे पाँच किलोमिटर लम्बाईकोे चौमाला, वनवेहडा, धनगढी कनरी सडक निर्माण भइरहेका छन् ।

त्यस्तै, गौरिगंगा–१० को हसुलिया रोडको काठमाडौटोल हुँदै भगतपुरसम्म जोड्ने साढे पाँच किलोमिटर सडक, गौरीगंगा नगरपालिका– ७ को साझाबजारदेखि तालवन्दसम्मको साढे तीन किलोमिटर सडक, वडा नम्बर ९ को शंकरपुरदेखि वनखेतसम्मको तीन किलोमिटर सडक र तालवन्ददेखि मोहन्याल खनौयातालसम्मको ३० किलोमिटर सडक निर्माणाधिन रहेको छ ।

तीन करोडदेखि २० करोड रुपैयाँ लागतका निर्माणाधीन अधिकांश सडक बहुवर्षिय येजनाका रुपमा निर्माण भइरहेका छन् ।
अनुगमनमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुशीला बुढाथोकी, आर्थिक मामिला तथा योजना राज्यमन्त्री बलबहादुर सोडारी, कैलाली जिल्ला समन्वय समितिका उपप्रमुख खगराज भुषाल, गौरीगंगा नगरपालिका प्रमुख देविदत्त कँडेल, उपप्रमुख भोजबहादुर वम, भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर रामचन्द्र खत्री लगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्
विशेष समाचार