२४ बैशाख २०८१, सोमबार

राम्रो मौद्रिक नीतिका कारण अर्थतन्त्रमा सुधार– अर्थमन्त्री शर्मा



धनगढी / अर्थमन्त्री जनार्दन शर्माले सरकारको राम्रो मौद्रिक नीतिका कारण नेपालको अर्थतन्त्रमा क्रमिक रुपमा सुधार आइरहेको बताएका छन् । अर्थमन्त्रीले केही पक्षबाट मुलुकको अर्थतन्त्र श्रीलंकाको जस्तो हुनलागेको भन्ने भ्रम फैलाउने प्रयास भइरहेको पनि बताए ।

शुक्रबार धनगढीमा बीमा समितिको सुदूरपश्चिम प्रदेश कार्यालयको उद्घाटन गर्दै मन्त्री शर्माले भने– विगतमा अर्थतन्त्र बिग्रेको भए पनि अहिले क्रमिक रुपमा सुधारोन्मुख रहेको छ ।

उनले केही राजनीतिक दल तथा पक्षबाट नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा गइरहेको जस्ता भ्रम फैलाउने प्रयास भइरहे पनि अवस्था त्यस्तो नरहेको दाबी गरे ।

उनले भने– अझैं पनि केही पक्ष तथा राजनीतिक दलहरु नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो हुँदैछ भनेर भ्रम फैलाउने प्रयास गरिरहेका छन्, तर सूचकहरुले पनि मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहेको देखाइरहेका छन् ।

उनले सरकारकाले लिएको स्पष्ट मौद्रिक नीतिका कारण अर्थतन्त्र सुधार भइरहेको दाबी गरे ।

मन्त्री शर्माले सरकार एक्लैको प्रयासले मात्रै अर्थतन्त्रमा अपेक्षा गरेअनुसारको सुधार सम्भव नभएकोले निजी क्षेत्र तथा अन्य सरोकारवाला निकाय सबैबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए ।

उनले सरकारले निर्यात बृद्धि गर्ने तथा आयात घटाउने गरी काम गरिरहेको बताए । भने– यसका लागि तीनै तहका सरकार तथा निकायहरुबीच समन्वय र सहकार्य आवश्यक छ ।

अर्को प्रसंगमा अर्थमन्त्री शर्माले बीमा कम्पनीहरुका कारण मुलुकमा गरिबी निवारणमा ठूलो योगदान पुगिरहेको बताए । उनले कृषि क्षेत्रमा बीमा विस्तार गर्न आग्रह गरे । भने– किसानले अन्नबालीको बीमा गरेमा कुनै क्षती हुनगयो भने बीमाले ब्यहोर्ने भएकाले नोक्सानीबाट जोगिन्छ ।

कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले आम नागरिकको बीमा सेवामा पहुँच बृद्धिका लागि बीमा समितिका प्रदेश कार्यालयहरु विस्तार गरिएको बताए ।

बीमा समितिका निर्देशक राजुरमण पौडेलले आर्थिक रूपमा विपन्न वर्गलाई सरकारले बीमामा सहयोगको नीति बनाउनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार