२४ बैशाख २०८१, सोमबार

भण्डारीद्वारा कैलाली ५ बाट उम्मेदवारी घोषणा



धनगढी / नेपाली काँग्रेसका महासमिति सदस्य क्षितिज भण्डारीले आफू कैलाली ५ मा प्रतिनिधि सभा सदस्यको एकमात्र उम्मेदवार रहेको बताएका छन् ।

केही सातादेखि चुनावी प्रचारप्रसार कार्यालय समेत स्थापना गरेर घरदैलो र भेटघाट अभियान सञ्चालन गरिसकेका भण्डारीले पार्टीले आफूलाई नै उम्मेदवारको टिकट दिने दाबी गरे ।

कैलाली ५ बाट नेतृ आरजू राणा देउवा र आफ्नो मात्रै उम्मेदवारी पेस भएको बताउँदै उनले नेतृ आरजूले समानुपातिक रोजेकोले आफू एकल उम्मेदवार रहेको दाबी गरे ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले अरुहरु टिकट माग्न केन्द्रमा नेताहरुको दैलोमा चहारिरहे पनि आफू जनताको घरदैलोमा पुगिरहेको बताए ।

उनले केही दिनअघि आफ्नो चुनावी घोषणापत्र समेत सार्वजनिक गरिसकेका छन् । भण्डारीले क्षेत्र नम्बर ५ को सामाजिक सम्वन्धहरु आफूले मात्र बलियो बनाउन सक्ने बताउदै धनगढीलाई महानगर बनाउने योजना प्रस्तुत गरेका छन् ।

उनले भ्रष्टाचार अन्त्य गर्न लागि लागि पर्ने बताउदै, प्रतिनिधि सभा सदस्य भएमा राज्यको कुनै पनि सुविधा नलिने घोषणा पनि गरे ।

कैलाली ५ मा प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ काँग्रेसबाट नेतृ आरजूको चर्चा रहँदै आए पनि उनले समानुपातिक रोजेपछि अवस्था परिवर्तन भएको छ ।

हाल कैलाली ५ मा काँग्रेसबाट प्रत्यक्षतर्फ पूर्व केन्द्रीय सदस्य सुनीलकुमार भण्डारी, कारबाही गरिएका नेता पुष्करनाथ ओझा, प्रदेश महामन्त्री नरनारायण शाह, प्रदेश सभा सदस्य डिल्लीराज पन्तको चर्चा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार