२३ बैशाख २०८१, आईतवार

अनसनरत डा. केसी काठमाण्डौं फर्किए, शिक्षण अस्पतालमा उपचार हुँदै




धनगढी/ स्वास्थ्य अवस्था जटिल भएपछि १० दिनदेखि धनगढीमा अनसनरत डा. गोविन्द केसी उपचारको लागि काठमाण्डौं फर्किएका छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार बुधबार अपराह्न ५ बजेको श्री एअरको उडानबाट डा. केसी काठमाण्डौं गएका हुन ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै केसीले धनगढीमा २० औं सत्याग्रह गरिरहेका थिए ।

स्वास्थ्य अवस्था बिग्रेका कारण मङ्गलबार नै उहाँलाई काठमाण्डौं लानका लागि नेपाल सरकारले नेपाली सेनाको स्काइ ट्रक धनगढी पठाएको थियो । तर, डा. केसीले जान अस्वीकार गरेपछि स्काइ ट्रक रित्तै काठमाण्डौं फर्केको थियो । चिकित्सकको आग्रहमा बुधबार भने उनी आफ्नै खर्चमा काठमाण्डौं गएका हुन ।

उनको रक्तचाप, मुटुको धडकनमा गडबडी र पेटमा कडा खाले अल्सर भइ रक्तस्रावको आशङ्का गरिएको छ । शरीरमा पोषणतत्व र पानीको असन्तुलनले जुनसुकै बेला बेहोस भइ ज्यान जोखिममा पर्ने भन्दै अस्पतालले बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा उपचारका लागि भर्ना हुन सेती प्रादेशिक अस्पतालले सल्लाह दिएको थियो ।

विभिन्न सात बुँदे माग राख्दै डा. केसीले धनगढीको कृष्ण मन्दिरस्थित धर्मशालामा अनसन बसेका थिए । उनी अनसनको तेस्रो दिनदेखि विमारी भएपछि सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए ।

काठमाडौ लगिएपछि उनको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार