२२ बैशाख २०८१, शनिबार

टिकट दिए कैलालीका ५ बाट उठ्छु – डा. तिमिल्सेना




धनगढी / बहुचर्चित कैलालीको क्षेत्र नम्बर ५ बाट यसअघिसम्म काँग्रेस नेतृ डा. आरजू राणा देउवा चुनाव लड्ने चर्चा थियो । २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचन पराजित भए पनि उनी निरन्तर यहीँ क्षेत्रमा क्रियाशील रहँदै आएकी छिन् ।

उम्मेदवार चयन प्रक्रियामा नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ५ समिति र जिल्ला समितिले उनको एकमात्र नाम प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ सिफारिस गरेको थियो । उसो त उनलाई डडेल्धुरा सहित अन्य चार तीन क्षेत्रबाट पनि समानुपातिकतर्फ सिफारिस गरिएको थियो ।

तर, एकाएक डाक्टर आरजू प्रत्यक्षतर्फको दौडबाट बाहिरिइन् । असोज ३ निर्वाचन आयोगलाई प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिकतर्फको बन्दसूची बुझाउने क्रममा काँग्रेसले उनलाई डडेल्धुराबाट समानुपातिक कोटमा राख्यो ।

यससंगै यतिवेला कैलाली क्षेत्र नम्बर ५ मा काँग्रेसबाट प्रत्यक्षतर्फ कसले बाजी मार्ला भन्ने कौतुहल बढेको छ । २०७० सालको निर्वाचनमा काँग्रेस सभापति शेरबहादुर देउवा निर्वाचित भएको कैलाली ५ मा त्यसपछि भएको उपचुनावमा काँग्रेस नेता पुष्करनाथ ओझाले टिकट पाए ।

उनी निर्वाचनमा विजयी भए । २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा निस्कृय रहेका नेता ओझालाई “निर्वाचनमा असहयोग गरेको” आरोप लगाएर काँग्रेसले पाँच वर्षका लागि साधारण सदस्यताबाट निस्कासन गर्यो ।

अब कैलाली ५ मा काँग्रेसबाट कसले टिकट पाउला ? यो कौतुहलबीच स्वयं ओझा, पाका नेता तथा पूर्व केन्द्रीय सदस्य सुनीलकुमार भण्डारी, प्रदेश महामन्त्री नरनारायण शाह र प्रदेश सभा सदस्य डिल्लीराज पन्तको नाम चर्चामा रहेको छ ।

यहीँ चर्चाबीच एकअर्को नाम थपिएको छ– डाक्टर अङ्गराज तिमिल्सिना । अमेरिकाबाट आर्थिक नीति विश्लेषण विषयमा विद्यावारिधी गरेका डा. तिमिल्सेना संयुक्त राष्ट्रसंघको सुशासन परियोजनामा ग्लोबल एड्भाइजरका रुपमा नर्वेमा बसेर काम गर्दै आएका छन् ।

उनको प्रमुख कार्यक्षेत्र भनेको– विश्वका ६० बढी देशलाई सुशासन सम्बन्धी सल्लाह दिनु हो । उनले १०० भन्दा बढी देशको भ्रमण समेत गरेका छन् ।

बाजुराको हिमाली गाउँपालिकामा जन्मिएका ४९ वर्षीय डा. तिमिल्सेनाले अनुमोदन खबरसंगको टेलिफोन कुराकानीमा भने– मलाई काँग्रेसले कैलाली ५ बाट टिकट दियो भने चुनाव लड्छु ।

उनलाई सभापति देउवा दम्पत्तीले पनि कैलाली ५ बाट निर्वाचन लड्न भनेको चर्चा चलेको छ । हाल नर्वेमा रहेका उनले भने– समग्रमा सुदूरपश्चिम प्रदेशलाई आर्थिक, सामाजिक रुपमा माथि उठाउन र राजनीतिलाई नयाँ सोचबाट अघि बढाउन तथा सिंहदरवारमा “क्वालिटी रिप्रिजेन्टेशन” आवश्यक छ ।

उनले कैलाली र कञ्चनपुर सुदूरपश्चिम प्रदेशसहितको नेपालको साझा जिल्ला भएको तर्क दिए । भने– उसै पनि कैलाली र कञ्चनपुर सूदूरपश्चिम प्रदेशका सबै पहाडी जिल्ला र नेपालका प्रायः सबै जिल्लाको प्रतिनिधित्व गर्ने जिल्ला हुन ।

उनले काँग्रेसका सभापति तथा प्रधानमन्त्री देउवासंग चुनावका विषयमा कुरा भए पनि ठ्याक्कै कैलाली ५ का विषयमा अहिलेसम्म सघन छलफल नभएको बताए । उनले भने– तर पार्टीले जता उठाउँछ, उठ्छु ।

तिमिल्सेनाले धनगढीको त्रिनगर माविमा कक्षा ४ देखि ८ सम्म पढेका थिए ।

उनलाई बाजुराबाट समेत चुनाव लड्ने काँग्रेस कार्यकर्ता र नागरिक अगुवाहरुले आग्रह गरिरहेका छन् ।

धनगढीलाई विश्वको उदाहरणीय महानगर बनाउने उनको धोको छ । उनले भने– सबै युवा मिलेर धनगढीलाई विश्वको नमुना महानगरका रुपमा रुपान्तरण र विकास गरौं । उसै पनि पारी भारतमा द्रुत आर्थिक विकास भइरहेको छ ।

कैलाली ५ मा उनको चर्चासंगै विभिन्न क्रियाप्रतिक्रिया हुनथालेका छन् । सामाजिक सञ्जालमा चुनावी चर्चाबीच धनगढीका वुद्धिजीवि कमलराज जोशीले लेखेका छन– तपाईं कैलाली ५ मा आउनुहोस्, हामी सहयोग गर्न तत्पर छौं ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार