२३ बैशाख २०८१, आईतवार

पाँच वटा चिम बालेको विजुलीको विल सत्ताइस हजार रुपियाँ



बैतडी / ग्रामीण परिवेशको सामान्य घरमा रहेका पाँचवटा एलइडी बत्ती बालेको एक महिनाको महशुल बिल सत्ताइस हजार रुपियाँ आएपछि बिसनादेवी नाथको सातो उडेको छ ।

बैतडीको दशरथचन्द नगरपालिका–३, दुर्गाभवानीकी बिसनादेवी नाथले अघिपछि न्यूनतम शुल्क तिर्दै आइरहेकोमा गत मङ्सिरमा एकै महिनाको बिजुलीको बिल सत्ताइस हजार १५० रुपियाँ तिर्नु परेपछि महिनौदेखि भोक निद्रा लाग्न छोडेको छ ।

विद्युत वितरण केन्द्रका कर्मचारीले बिल अनुसारको रकम नतिरे थप जरिवाना र कारबाही हुने भनेपछि गाउँबाट दगुर्दै बिस्नादेवीले विद्युत बितरण केन्द्र बैतडीलाई सत्ताइस हजार १५० रुपियाँ तिर्न बाध्य भएको पीडा सुनाइन ।

“मलाई के दशा लाग्यो होला ? पाँचवटा चिम बालेको मासिक सत्ताइस हजार रुपियाँ बिल कसरी आयो ?” बिस्नादेवीले भनिन,“ विद्युतका कर्मचारीलाई सोधपुछ गर्दा मिटरले देखाएपछि तिर्नुपर्छ भन्नुभयो । रकम नतिरे थप जरिवाना लाग्छ भनेपछि रकम तिर्न बाध्य भएकी छु । सरसापटी गरेर रकम तिरे तर, महिनौदेखि भोक निद्रा लागेको छैन ।”

१० वर्षअघि बिसनादेवी नाथका ससुरा बहादुर नाथले ग्राहक नम्बर ००५–०१–७६४ र कम्युटर कोड ५८८ नम्बरको मिटर जडान जडान गरेर घरमा बिजुली जोड्नु भएको थियो । मिटर जडान गरेदेखि मासिक एकसय रुपियाँका दरले शुल्क तिर्दै आए पनि गत मङ्सिरमा एक्कासी सत्ताइस हजार रुपियाँ आएको बिस्नादेवीले बताइन ।

मङ्सिरमा सत्ताइस हजार रुपियाँको बिल तिरेपछि पुस महिनामा बिजुलीको मिटरमा एक्कासी आफै आगलागीसमेत भएको उनले बताइन । आगलागी भएको जानकारी गराउन विद्युत वितरण केन्द्र बैतडी पुग्दा मिटर जलेको प्रहरी मुचुल्का चाहिने भनेपछि हप्ता दिनसम्म स्थानीय देहिमाडौं प्रहरी चौकी र वडा कार्यालय धाएर बल्ल विद्युतका कर्मचारीले घरमा नयाँ मिटर फेरिदिएको उनले भनिन ।

“अहिले त मासिक ३० रुपियाँ आइरहेको छ” उनले भनिन, “गएको मङ्सिरमा कसरी सत्ताइसहजार रुपियाँ आयो भन्ने विषयमा चित्त नबुझ्दा प्रशासन कार्यालयमा गुनासो राख्न आएकी हुँ ।”

मिटरको खराबीका कारण या विद्युत रिडरको कमजोरीले पाँचवटा चिमको सत्ताइस हजार रुपियाँ बिल आएको विषयमा विद्युत वितरण केन्द्रका कर्मचारी बोल्न तयार छैनन् । कार्यालय प्रमुख बाहिर भएकाले यो विषयमा बोल्न नसक्ने विद्युत वितरण केन्द्रका कर्मचारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार