२३ बैशाख २०८१, आईतवार

बालबालिकाका अधिकारमा गम्भीर छौ : राज्यमन्त्री रैका



धनगढी / राष्ट्रसंघीय बालअधिकारसम्वन्धी महासन्धी, १९८९ माथि बालबालिकाको नेतृत्वमा तयार गरिने प्रतिवेदन २०२२ सम्वन्धी सुदूरपश्चिमस्तरिय कार्यशाला धनगढीमा भएको छ ।

कन्सोर्टियम–नेपालको आयोजना र वल्र्ड भिजनको सहयोगमा भएको कार्यक्रममा दार्चुला वाहेकका आठ जिल्लाका बालबालिकाहरुको सहभागितामा थियो ।

सो क्रममा बालबालिकाले सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकालाई सात बुँदे ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापन पत्रमा बालबालिकाको क्षेत्रमा कानुनी, नीति, रणनीति कार्यक्रम बढाउने, बालकल्याण अधिकारीको व्यवस्था, बालकोषको व्यवस्था कार्यान्वयन बालमनोविज्ञान तथा सामाजिक कार्यकर्ता सम्बन्धित व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न सहजीकरण गर्न माग गरिएको छ ।

यस्तै, गरेर बाल विवाह लगायत समाजमा व्याप्त सबै कुरितिका लागि काम गर्ने, सबै ठाउँमा बालबालिकाहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित बाल सहभागिता सम्बन्धि कार्यविधि निर्माण गर्ने, स्थानीय तहमा योजना प्रक्रियामा बालबालिका लागि कम्तिमा १० प्रतिशत बजेट विनियोजनका लागि आवश्यक सहजीकरण गर्ने, बालमैत्री स्थानीय शासनको अवलम्बन, सूचकको प्रभावकारी कार्यान्वयन गर्ने र प्राकृतिक प्रकोप, जलवायु परिर्वतनमा बालबालिकामा पर्ने असर बारेमा आवश्यक जनचेतनामुलक कार्यक्रमको आयोजना गर्नु पर्ने आवश्यक्ता औल्याएइएको छ ।

ज्ञापन पत्र बुझ्दै राज्यमन्त्री रैकाले प्रदेश सरकार बालबालिकाहरुको अधिकारमा गम्भीर रहेको बताए । उनले ज्ञापनपत्रमा उल्लेख भएका बुँदा कार्यान्वयमा प्रदेश सरकार प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा कन्सोर्टियम–नेपालका उपाध्यक्ष सन्तोष महर्जनले बालबालिकाहरुका क्षेत्रमा आफूहरु दुई दशकदेखि काम गर्दै आएको बताउँदै अझ पनि गम्भिर रुपमा लागेको बताए ।

यस्तै कार्यक्रममा वल्र्ड भिजन इन्टरनेशनल नेपालका सुदूरपश्चिम फिल्ड म्यानेजर चेतराज भट्टराईले बालबालिकाका सवाललाई तीन वटै सरकारले गम्भीर रुपमा लिनपर्ने बताए ।

‘पछिल्लो समय बालिकाहरु असुरक्षित छन् उनले भने ‘सरकारले गम्भिर बन्न आवश्यक छ ।’

सो अवसरमा नेपाल पत्रकार महासंघका कैलालीका अध्यक्ष हिमाल जोशीले पत्रकारहरुले बालबालिकाको मुद्धा उठाइरहेका र आगामी दिनमा समेत बालबालिकाको अधिकारका सवाल उठाउने प्रतिबद्धता गरे ।

कार्यक्रममा कञ्चनपुर, डडेल्धुरा, बैतडी, बाजुरा, कैलाली,अछाम, बझाङ, र डोटीका २७ जना बालबालिकाको सहभागिता रहेको थियो ।

कार्यक्रम बाल सल्लाहकार समितिका सदस्य खगेश्वरी ऐडीको अध्यक्षतमा भएको थियो । कार्यक्रमको बाल अधिकार अभियन्ता किरण थापाले सहजीकरण गरेका थिए ।

यसअघि सोमबार विहान भएको उद्घाटन कार्यक्रममा कन्सोर्टियम–नेपालका उपाध्यक्ष सन्तोष महर्जनले कार्यक्रम औचत्य बारे प्रकाश पारेका थिए भने वल्र्ड भिजनका केन्द्रीय प्रतिनिधि श्याम अधिकारीले सहभागीलाई स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार