२४ बैशाख २०८१, सोमबार

गठबन्धन अयोग्य भयो, यसलाई बिदा गर्नु पर्छ : महासचिव पोखरेल



धनगढी/ नेकपा (एमाले)का महासचिव शंकर पोखरेले आगामी निर्वाचन मार्फत सत्ता गठबन्धनलाई बिदा गर्न आवश्यक रहेको बताएका छन् ।

आज अत्तरियामा प्रेस चौतारी नेपाल कैलाली शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा गठबन्धनले मुलुकमा राम्रो काम नगरेको भन्दै त्यसलाई बिदा गर्न आवश्यक रहेको बताए ।

गठबन्धन जस्तो अवस्थामा छ ,त्यसले एक सिट पनि नजित्नु पर्ने हो ,गठबन्धन पूर्णरुपमा समाप्त हुनु पर्ने हो उनले भने, यसले कुनै गतिलो काम गरेको छैन । यो अयोग्य छ । त्यस कारणले यसलाई बिदा गर्नुपर्छ ।

नेपाली कांग्रेसबाट देशले नेतृत्वको सम्भव नभएको समेत उनले जिकिर गरे । उनले वर्तमान सरकार अझै एक वर्ष रहे मुलुक श्रीलङ्काको बाटोमा जान सक्ने खतरा रहेको समेत बताएका थिए ।

नेपाली मुद्रा कमजोर बन्दै गएको छ । सरकार असफल भएको छ । सरकारको आफ्नो खर्च गर्ने क्षमताले बजार गुलजार हुन्छ । तर सरकारले आफ्नो खर्च गर्ने सामर्थ्य गुमाइसकेको छ । जुन कारण यो जनताको सरकार नै होइन’ उनले भने, यहि सरकार अझै एक वर्ष यस्तै रहे नेपालको अवस्था श्रीलङ्काको गतिमा नपुग्ला भन्न सकिन्न ।

उनले अहिले वम तालमेल सम्भव नभएको पनि बताए। अहिलेको अवस्थामा तालमेल सम्भव छैन । गठबन्धन हामीले आवश्यक देखेका छैनौ । पहिले एउटै कम्युनिस्ट बनाउने उद्देश्यले तालमेल गरेका थियौ । एउटै पार्टी पनि बनायौँ त्यो असफल भयो उनले भने, जुन चिज असफल भयो त्यो फेरि गर्नुपर्छ भन्ने हुँदैन ।

तर स्थानीय आवश्यकताको आधारमा भने तालमेल हुन सक्ने उनले बताए ।

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता सम्बन्धी बिधेयक हुबहु पारित गरेको भन्दै यसमा सत्ता पक्षले गलत गरेको उनले जनाए ।
उनले भने, सत्ता पक्षले जे गर्यो त्यो गलत गर्यो । राष्ट्रपतिले उठाएका विषय नागरिकका प्रश्नहरू हुन् । नागरिकका प्रश्नहरूको छलफल बाट जवाफ दिनु पर्नेमा सत्ता पक्षले बल मिच्याइ गर्यो ।

बैतडी दार्चुला र डडेल्धुरामा प्रशिक्षणका लागि केही दिन पहिले सुदूरपश्चिम आएका महासचिव पोखरेल आज काठमाडौँ फर्किए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार