२० बैशाख २०८१, बिहीबार

कारबाहीमा परेका नेता ओझाको घरमा काँग्रेसी नेताहरूको जमघट



धनगढी / चुनावमा असहयोग गरेको आरोपमा पाँच वर्षअघि कारबाही गरिएका पूर्व राज्यमन्त्री तथा नेता पुष्करनाथ ओझालाई भेट्न बुधबार काँग्रेस संस्थापन पक्षीय नेताहरु उनको निवासमा पुगेका छन् ।

बुधबार बिहान धनगढी संस्थापन पक्षका केन्द्रीय सदस्य नृपबहादुर वड, कैलाली जिल्ला सभापति नारायणदत्त भट्ट, प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका, कांग्रेसका प्रदेश कोषाध्यक्ष उत्तमबहादुर कठायत, नेता प्रकाशबहादुर बम, गोदावरी नगरपालिका मेयर वीरेन्द्र भट्ट, जिल्ला सचिव नृपबहादुर सुनार, नारायण सत्याल, अमृत बिसी, वीरेन्द्र स्वाँर सहितका नेताहरू ओझाको धनगढी उपमहानगरपालिका–४ स्थित निवासमा पुगेका थिए ।

नेता ओझालाई २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा काँग्रेस उम्मेदवार डाक्टर आरजू राणा देउवालाई असहयोग गरेको आरोपमा अनुशासनको कारबाही गरिएको थियो । उनी त्यतिवेला सांसद रहेका थिए । कैलाली क्षेत्र नम्बर ५ बाट टिकटका आकांक्षी उनले नपाएपछि निस्कृय बनेका थिए । काँग्रेसले सो निर्वाचनमा कैलाली–५ बाट डाक्टर आरजूलाई टिकट दिएको थियो । निर्वाचनमा उनी एमाले उम्मेदवार नारदमुनि रानासंग पराजित भएकी थिइन् ।

पाँच वर्षअघि गरिएको कारबाही अझैं फुकुवा भएको छैन ।

मंसिर ४ गते हुने निर्वाचनमा कैलाली–५ बाट पुनः डाक्टर आरजू लड्ने बलियो सम्भावना रहेको छ । २०७४ सालको निर्वाचनमा पराजित भए पनि उनले विभिन्न गैरसरकारी संस्थामार्फत सो क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएकी छिन् ।

भेट गर्न गएकामध्ये ओझा निकट एक नेताले उनको भनाई उधृत गर्दै “ओझाले आसन्न निर्वाचनमा कैलाली–५ बाटै प्रतिनिधि सभा सदस्यमा लड्न चाहेको दोहोराएको” बताए । नेता ओझाले गत स्थानीय निर्वाचनलगत्तै पटक पटक सार्वजनिक रुपमा नै आफ्नो पहिलो प्राथमिकता काँग्रेसको टिकटमा नै कैलाली–५ बाट चुनाव लड्ने रहेको र कथंकदाचित भएन भने आफूसंग अरु विकल्प पनि रहेको बताउँदै आएका छन् ।

बुधबार भेटका क्रममा पनि उनले “काँग्रेस र कैलाली–५ आफ्नो घर भएकोले चुनाव लड्ने तयारीमा रहेको” दोहोराएको ती नेताले भने ।

काँग्रेस केन्द्रीय कार्यालयले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिलाई भोली (बिहीबार) सम्म आकांक्षी उम्मेदवारहरूको नाम संकलन गरेर जिल्ला कार्यसमितिलाई सिफारिस गर्न निर्देशन दिइसकेको छ ।

कारबाहीमा पारिएका नेता ओझासंग गत स्थानीय निर्वाचनमा कारबाही फुकुवा नगरिकनै सहयोगको लागि पहल गरिए पनि उनी तटस्थ बसेका थिए ।

नेता ओझासंगको भेटघाटबारे काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले भेटका लागि केन्द्रको कुनै निर्देशन नभइ आफ्नो पहल भएको बताए । उनले भने– यो मेरो आफ्नो दायित्व र पहल हो । मैले “पार्टीका विभिन्न पक्षबीच संवादहीनताको अवस्था कम गरेर सबैलाई एकजुट बनाउने आफूले कर्तव्यबोध गरेर संवादको पहल गरेको” हुँ ।

सभापति भट्टका अनुसार नेता ओझाले सकारात्मक प्रतिक्रिया दिएका छन् । उनले भने– उहाँ ५० प्रतिशत सकारात्मक हुनुहुन्छ । तर, सबै कुरा मेरा नियन्त्रणमा पनि छैन ।

उनले आफूले पार्टीभित्र टुटेका मनहरूलाई जोड्ने प्रयास गरिरहेको बताए । “मैले उहाँसंग सबै मिलेर अघि बढौं भनेर अनुरोध गरे” उनले भने– राम्रो नतिजा आउला भन्ने आशा गरेको छु ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार