२० बैशाख २०८१, बिहीबार

वर्तमान राज्यमन्त्री चौधरी, पूर्वमन्त्री तामाङ एमाले फर्किए



धनगढी / नेकपा (एकीकृत समाजवादी) का सुदूरपश्चिम प्रदेशका पूर्व अध्यक्ष, प्रदेशका राज्यमन्त्री, प्रदेश सभा सदस्यसहित केही नेताहरु एमालेमा फर्किएका छन् ।

पार्टी प्रवेश कार्यक्रममा नेकपा (एस) का प्रदेश पूर्व अध्यक्ष विक्रमबहादुर शाही, प्रदेशका पूर्व मन्त्री तारा लामा तामाङ, वर्तमान भौतिक पूर्वाधार विकास राज्यमन्त्री कुलवीर चौधरी, बेदकोट नगरपालिकाका पूर्व मेयर अशोक चन्द, माओवादी नेता मोहन गिरी सहितका नेताहरुलाई एमाले अध्यक्ष केपी ओलीले स्वागत गर्दै पार्टीमा प्रवेश गराए ।

प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री कुलवीर एमालेमा प्रवेश गर्ने चर्चापछि आजै मुख्यमन्त्री त्रिलोचन भट्टले पदबाट बर्खास्त गरेका थिए ।

नेकपा (एस) का प्रभावशाली नेताहरु एमालेमा फर्किने चर्चापछि उनीहरुलाई रोक्न नेकपा (एस) का नेताहरुले निकै प्रयास गरे पनि सफल भएनन् । आजै बिहान नेकपा (एस) का मन्त्री तथा केही नेताहरु पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य तामाङलाई फकाउन उनको धनगढीस्थित डेरामा गए पनि सफल नभएको बताइएको छ ।

एमाले विभाजन भएर नेकपा (एस) गठन भएपछि दल रोज्ने क्रममा सुदूरपश्चिम प्रदेश सभामा नेकपा (एस) १४ सदस्यसहित सबैभन्दा ठूलो दल बनेको थियो । तर, अब प्रदेश सभामा सो पार्टीका १२ सदस्य मात्रै बाँकी रहेका छन् ।

प्रदेश सभामा अब नेकपा माओवादी केन्द्र १३ सदस्य सहित सबैभन्दा ठूलो दल बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार