२४ बैशाख २०८१, सोमबार

गठबन्धन दलबीच बलियो तालमेल हुन्छ : भुसाल




धनगढी/
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसालले आगामी संघ र प्रदेशको निर्वाचनमा गठबन्धन दलबीच बलियो तालमेलका साथ अघि बढ्ने बताएका छन् ।

शनिबार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कैलालीको विस्तारित बैंठकलाई सम्बोधन गर्दै उनले अबको चुनावी तालमेलले स्थानीय तहको भन्दा भन्दा राम्रो परिणाम दिने गरी हुने बताए । स्थानीय तहको निर्वाचनबाट शिक्षा लिएर गठबन्धन थप मजबुद बनाएर अघि बढ्ने उनले बताए ।

आगामी प्रदेश र संघको निर्वाचनपछि बिचार र ऐजेण्डा मिल्ने कम्युनिष्ट पार्टीबीच एकताको पहल गरिने महासचिव भुसालको भनाइ थियो । उनले संविधान रक्षा र देशलाई सहि दिसामा अघि बढाउनका लागि एमालेबाट बिद्रोह गर्नुपरेको बताए ।

स्थानीय तहको निर्वाचनमा देखिएका कमी कमजोरीबाट शिक्षा लिएर आगामी निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्तालाई उनले आग्रह गरे । उनले संगठनविना निर्वाचन जित्न नसकिने बताउँदै बलियो संगठन निर्माण गरेर पार्टीलाई चलायमान बनाउन सबै कार्यकर्ता एक ढिक्का भएर लाग्न आग्रह गरे ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सचिव तथा सुदूरपश्चिम इन्चार्ज गरिमा शाहले अहिले एमालेले विभिन्न किसिमका भ्रम सृजना गरेर समाजवादीलाई कमजोर बनाउने षडयन्त्र गरिरहेकोले त्यस्ता भ्रमका पछाडि नलाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरिन् ।

उनले आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा होमिन कार्यकर्ताहरूलाई आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार