२० बैशाख २०८१, बिहीबार

सुदूरपश्चिमका पूर्वमन्त्री तामाङले गरे २५ करोडका तीन योजनाको शिलान्यास



धनगढी / सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री तारालामा तामाङको निर्वाचन क्षेत्रमा एकैदिन झण्डै २५ करोडका तीन वटा सडक र पुल निर्माण सम्बन्धीका योजना शिलान्यास गरिएको छ ।

नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य समेत रहेका तामाङको निर्वाचन क्षेत्रमा पर्ने पुनर्वास नगरपालिकाभित्र २४ करोड ९८ लाख बराबरको लागत भएका तीन वटा महत्वपूर्ण योजनाको बुधबार शिलान्यास गरिएको हो ।

तामाङ आफैले पुनर्वास नगरपालिका–१० मा पर्ने तीन करोड ३३ लाखमा ठेक्का सम्झौता गरिएको लमैया नाला बक्स कलभट २० मिटरको शिलान्यास गरेका छन् । वाइआर, हटैराज जेभीले निर्माण गर्ने यो योजनामा पूर्वाधार विकास कार्यालय कञ्चनपुरले गत असार ५ गते अगामी २०८१ असार ३० गतेभित्र पूरा गर्ने ठेक्का सम्झौता गरेको छ ।

यस्तै तामाङले पुनर्वास नगरपालिका वडानम्बर ९ मा जिरो प्वाइन्ट रहेको कोटी होम–घ गाउँ–ङ गाउँ बिचफाँटा सडक निर्माणको पनि शिलान्यास गरेका छन् । साढे ११ किलोमिटर लम्बाइ रहेको यो सडक अगामी २०८१ असार ३० गतेभित्र सम्पन्न गर्नेगरी १६ करोड २५ लाखमा शंकर जेभी निर्माण सेवालाई ठेक्का दिइएको छ ।

नेपाल–भारत दशगजा क्षेत्रमा जिरो प्वाइन्ट रहेको यो सडकमा निर्माण व्यवसायीले इलाका प्रहरी कार्यालय पुनर्वाससम्म कालोपत्रे गर्नेछ । पुनर्वास नगरपालिका–४ को कोटी होम घ गाउँदेखि पुनर्वास नगरपालिका कार्यालयलाई जोड्ने तीन किलोमिटर ७२० मिटरको सडकको पनि बुधबार नै शिलान्यास गरिएको छ ।

पाँच करोड ३९ लाख लागत रहेको यो सडक कालोपत्रेको ठेक्का महरा निर्माण सेवा प्राली कञ्चनपुरले पाएको छ । यसको निर्माण अवधी पनि अगामी २०८१ असार ३० गतेसम्मै राखिएको छ । तामाङले प्रदेशको आर्थिक मामिला मन्त्री भएका बेला गत माघमा यी योजनामा बजेट हालेका थिए ।

योजनाको शिलान्यास गर्दै तामाङले प्रदेश सरकारले बहुवर्षीय योजनाका रुपमा स्वीकृत गरेका विभिन्न ६६ मध्ये कञ्चनपुरमा मात्रै १९ वटा पूर्वाधारका योजना परेको बताए । बुधबार शिलान्यास गरिएका योजना पनि तिनै अन्तरगतका भएको उनको भनाई थियो ।

उनले निर्वाचनका बेला मतदाताहरुसँग बोलेको बाचाहरु आफ्नो क्षेत्रको पूर्वाधार विकासका लागि ती योजनामा बजेट छुट्याएर काम अघि बढाइएको बताउदै निर्धारित समयमै काम सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । कुनै पनि विकास निर्माणको कार्य आफ्नै लागि भएकाले निर्माण व्यवसायीलाई सहयोग गर्न समेत उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार