२० बैशाख २०८१, बिहीबार

उपचारको अभावमा मानसिक रोगी युवक साङ्लोमा



धनगढी /
कमजोर आर्थिक अवस्थाका कारण उपचार नपाएर कैलालीको धनगढी उपमहानगरपालिका–११, घोडसुवा बरपिपल टोलका ३० वर्षीय सुकराम चौधरी सात वर्षदेखि सांग्लोमा बाँधिएर गोठमा बस्दै आएका छन् ।

पुरानो कच्ची घरको अगाडी एउटा हिलाम्मे र दुर्गन्धित गोठमा उनलाई हातमा फलामे सांग्लोले बाँधेर राख्ने गरिएको छ । प्रायः निर्वस्त्र अवस्थामा रहने उनी बाँधिएकै अवस्थामा खाना खान्छन् । बाँधिएकै अवस्थामा गोठमै दिसापिसाब गर्छन् ।

उनलाई परिवारले सात वर्षदेखि साङ्लोमा बाँधेर गोठमा राख्न थालेका हुन् । उनी मानसिक रोगी हुन् । उनकी आमा कुनकी चौधरीका अनुसार आफुहरु दैनिक ज्यालामजदुरीका लागि घरबाहिर जानुपर्ने भएकाले छोरा (सुकराम) लाई सांग्लोले बाँधेर राख्नुपर्ने बाध्यता छ ।

उनले भनिन्– मेरा दुई छोरा छन् । जेठो छोरो सुकरामलाई मानसिक रोग लागेको छ । आठ वर्षको उमेरमा घर नजिकको जामुनको रुखबाट खसेपछि मानसिक रोगी भएको हो । त्यति वेला मेरा सुसुरा बिरामी परे ।

रिनसापट गरेर ससुराको उपचार गरे । तर, पैसा नहुँदा छोराकोे उपचार गर्न सकिन । छोराको रोग बढ्दै गयो । हामी दिनभरी ज्याला मजदुरी गर्न जान्छौं, घरमा छोरालाई एक्लै छोड्दा गाउँभरी भौतारिन्छ । त्यही भएर हात बाँधेर गोठमा राखेर काममा जान्छु ।

कुनकीको परिवार दैनिक ज्यालामजदुरी र अरुको जग्गा अधियामा कमाएर गुजारा गर्दै आएको छ । उनका अनुसार सुकरामको उपचारका लागि अहिलेसम्म छ लाख रुपैयाँ बढी खर्च भइसकेको छ । उनले भनिन्– छोराको उपचारका लागि लिएको ऋणको अहिले ब्याज समेत तिर्न नसकेर तनावमा छु । उनले राम्रो अस्पतालमा लैजान पाए छोरोको रोग सञ्चो हुन्थ्यो कि भन्ने लागेको बताइन् ।

एक दिन घर नजिकै जामुन टिप्न रुख चढेका सुकराम रुखबाट खसेका थिए । चोटपटक लागेका उनलाई गाउँको एक मेडिकलमा उपचारका लागि लगियो । मेडिकलवालाले सामान्य औषधी दिए । तर, उनको अवस्थामा सुधार भएन । सुकरामको व्यवहारमा परिवर्तन आउन थाल्यो । उनी स्कूल जान मन गर्दनथे । कापीकिताब बारीमा लगेर फिँजाउने गर्थे । बरबराउने, अरु मान्छेसँग असमान्य व्यवहार गर्न थाले ।

शुरुमा उनलाई उपचारका लागि धनगढी र महेन्द्रनगर अस्पताल लगियो । तर, उनको रोगको पत्ता लागेन । “केही सीप नचलेपछि उपचारका लागि भारतको बरेली लगे । त्यहाँको डाक्टरले मानसिक रोग भएको बताए । औषधी सेवनपछि छोराको अवस्थामा विस्तारै सुधार देखियो । बरेलीको डाक्टरले हरेक १५ दिनमा उपचारका लागि ल्याउनु भनेको थियो, तर पैसा नभएकोले लैजान सकेनौ” कुनकीले भनिन् ।

सुकरामको अवस्था बिग्रिँदै गएपछि २०७२ सालदेखि गोठमा बाँधेर राख्ने गरेको उनले बताइन् ।
मनोविद यभन श्रेष्ठले सुकरामलाई कडा खालको मानसिक रोगले च्यापेका कारण नियमित रुपमा डाक्टरको निगरानीमा राख्नु पर्ने बताए ।

सुकरामको दयनीय अवस्था थाहा पाएपछि वडा नम्बर ११ का वडाध्यक्ष रुपबहादुर कुँवरले वडाबाट उनको उपचारका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने– सुकरामको परिवारको आर्थिक अवस्था निकै कमजोर छ ।

आर्थिक अवस्थाका कारण एक हट्टाकठ्ठा युवक उपचार नपाएर छट्पटाइरहेको छ । त्यसैले सबैले उसको उपचारका लागि सहयोग गर्न अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार