२० बैशाख २०८१, बिहीबार

बल्चौरका बादी समुदायलाई लालपुर्जा वितरण




लम्की / १५ वर्षदेखि कैलालीको लम्कीचुहा नगरपालिका–३ बल्चौरमा बसोबास गर्दै आएका भूमिहीन बादी समुदायलाई मंगलबार जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरिएको छ ।

मंगलबार एक कार्यक्रमबीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले बल्चौरका एक सय ३० बादी परिवारलाई लालपूर्जा वितरण गरिन् ।

सो अवसरमा मन्त्री श्रेष्ठले सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासीको हक अधिकारका लागि काम गरिरहेको बताइन् ।
उनले सरकारले भूमिहीनहरुलाई लालपुर्जा वितरणको काम अभियानको रुपमा अगाडि बढाएको बताइन् । उनले भनिन्– हामीले हालसम्म ५० हजार बढी भूमिहीनलाई लालपुर्जा वितरण गरिसकेका छौ ।

मन्त्री श्रेष्ठले चालु आर्थिक वर्षभित्र सरकारले तीन सय पालिकाका पाँच लाख भूमिहीनहरुलाई लालपूर्जा वितरण गरिसक्ने गरी काम अघि बढाएको बताए । उनले भनिन्– सरकारले दुई वर्षभित्र भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गरिसक्ने छ ।

लामो समयदेखि पूर्वपश्चिम राजमार्गको किनारामा बस्दै आएका वादी समुदायले लालपुर्जा पाएपछि सो बस्तीमा खुशीयाली छाएको छ । सो बस्तीमा विभिन्न कठिनाई भोगेर जीवन निर्वाह गर्दै आएका वादी समुदायले जमीनको मालिक बन्न पाएकोमा अत्यन्तै खुशी भएको स्थानीय रमा वादीले बताइन् ।

वर्षौदेखि सो बस्तीका बादी समुदायले खानेपानी, विद्युत लगायत अति आवश्यक आधारभूत आवश्यकताबाट बञ्चित हुनुपरेको थियो । सुदूरपश्चिम र कर्णाली प्रदेशमा सो समुदायको बसोबास रहेको छ । पुख्यौली पेशा माछा मारेर, मादल बनाएर जीवन निर्वाह गर्ने बादी समुदाय अहिले विस्तारै सो पेशा छाड्न बाध्य भएका छन् ।

कार्यक्रममा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले समाजमा पछि परेको भूमिहिन वादी समुदायले घरबासको लालपुर्जा पाउनु समुदायले आत्मसम्मानका रुपमा लिनुपर्ने बताए ।

सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले सबै नागरिकलाई जग्गाको स्वामित्व हुनुपर्छ भन्ने मान्यता अनुसार लालपुर्जा पाउनु बादी समुदायको संघर्षको उपलब्धि पनि भएको बताइन् ।

भूमि आयोगका कैलाली अध्यक्ष यज्ञराज उपाध्यायले लम्कीचुहामा १० हजार कित्ता जग्गा नापी भइसकेको, जिल्लाका पाँच पालिकामा लालपुर्जा वितरण गर्ने तयारी भइरहेको र आयोगमा एक लाख २५ हजार जति व्यक्तिका निवेदन परेको जानकारी दिए ।

पूर्वपश्चिम राजमार्गको दक्षिण र रानी जमरा कुलरिया सिंचाईको मूल नहरको उत्तरमा बसोबास गरिरहेका १७७ बादी परिवार मध्ये १२४ परिवारको हातमा मंगलबार लालपुर्जा पुगेको छ भने छ परिवारका घरमूली बाहिर भएकाले पछि हस्तान्तरण गरिनेछ । लालपूर्जा पाउनेहरुले दश धुरदेखि एक कठ्ठासम्म पाएका छन् ।

कार्यक्रममा राष्ट्रिय वादी अधिकार संघर्ष समितिकी अध्यक्ष एवम् सुदूरपश्चिम प्रदेश सभा सदस्य उमादेवी वादीले वादी अधिकारको आन्दोलनले विजय प्राप्त गरेको दिनको रुपमा लिनुपर्ने बताइन् ।

उनले भनिन्– बसोबासको लालपूर्जा पाएपछि दलितभित्रको पनि दलित, घुमन्तेफिरन्ते वादी समुदायको विजय र आत्मसम्मान बढेको छ ।

भूमिहिनलाई घरबास, आवास र रोजगारीको माग राखी वादी समुदायले २०६४ सालमा गरेको सिंहदरबार केन्द्रित आन्दोलनमा उमादेवीले नेतृत्व गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार