२२ बैशाख २०८१, शनिबार

टीकापुर घटनाका सात वर्ष : छुट्टाछुट्टै रुपमा टीकापुरमा विद्रोह दिवस मनाइयो



टीकापुर/ टीकापुर घटनाको सात वर्ष पूरा भएको दिन मंगलबार टीकापुरमा विद्रोह दिवस मनाइएको छ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) र थरुहट/थारुवान राष्ट्रिय मोर्चा, थारु कल्याणकारिणी सभा, थारु विद्यार्थी समाजको आयोजनामा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा वक्ताहरुले टीकापुर घटनालाई राजनीतिक रुपमा लिएर सरकारले टीकापुर घटनामा जेल सजाय भोगिरहेका बन्दीहरुलाई बिनाशर्त रिहाई गर्नुपर्ने, कञ्चनपुरदेखि नवलपरासीसम्म थरुहट/थारुवान प्रदेश घोषणा हुनुपर्ने लगायतका माग दोहाराए ।

थारुकल्याणकारिणी सभाको आयोजनामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रणबहादुर रावलले सरकारले टीकापुर घटनालाई राजनीतिक रुपमा समाधान गर्ने निर्णय गरिसकेको स्मरण गरे । उनले नेपाली काँगे्रसको अगुवाईमा सरकारले भदौ ८ मा भएको आगजनीको क्षतिपूर्ति दिलाएको दाबी गरे ।

मन्त्री रावलले संविधानले सबैलाई समान अधिकार प्रादान गरिसकेको चर्चा गर्दै सबै जातजातिबीच सामाजिक सद्भाव कायम गर्दै सबैले विकासमा लाग्नुपर्ने बताए ।

कार्यक्रममा नेपाली काँगे्रसका केन्द्रीय सदस्य रामजनम चौधरीले थारु समुदायको हक अधिकारको विषय राज्यसंग सम्बन्धि भएको चर्चा गरे । उनले थारु हकअधिकारको विषय कोही कसै जाती वा क्षेत्र विरुद्धको आन्दोलन नभएको बताए ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य नेपबहादुर चौधरीले टीकापुर घटनाका बन्दीहरुको विना शर्त रिहाईको माग दोहोराए ।
जनता समाजवादी पार्टीका नेता होरिलाल चौधरीले सुदूरपश्चिमको पहाड र तराई अलगअलग प्रदेश हुनुपर्ने बताए ।

कार्यक्रममा काँगे्रस नेता जनकराज चौधरी, माओवादी नेताहरु हरि ज्ञवाली, रुपा चौधरी, र वीरभान चौधरी, भजनी नगरपालिकाका पूर्व नगर प्रमुख शेरबहादुर चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

त्यस्तै, मंगलबार नै भएको नागरिक उन्मुक्ति पार्टीको कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले टीकापुर आन्दोलन सबै सबै पहिचानवादीको आन्दोलन भएको चर्चा गर्नि । उनले टीकापुर घटनामा निर्दोषहरुमाथि सरकारले अनाहकमा दुःख दिइरहेको बताइन् । उनले भनिन्– टीकापुर घटना सबैका लागि पिडादायी रहेकोले आगामी दिनमा राज्यले सबैप्रति न्यायको व्यवहार गर्न आग्रह गरिन् ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) को सभा

कार्यक्रममा भजनी नगरपालिका प्रमुख केवल चौधरीले कुनै जाति समुदायसँग नभई राज्यसंग अधिकार माग्ने क्रममा टीकापुर घटना भएको चर्चा गरे ।

नाउपा नेता भक्तबहादुर चलाउनेले स्वागत गरेको कार्यक्रममा थरुहट/थारुवान राष्ट्रिय मोर्चाका नेता लक्ष्मण थारु, नागरिक उन्मुक्ती पार्टीका केन्द्रीय सदस्य प्रदिप चौधरी, विश्राम कुश्मी, लक्ष्मणकिशोर चौधरी, नेपाली काँग्रेस टीकापुर नगर सभापति नरेशकुमार खत्री, एमाले नगर अध्यक्ष धुव्र खत्री, नेकपा समाजवादी नेता रंग अधिकारी, जनता समाजवादी पार्टीका नेता विरेन्द्र साँउद लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन इन्दु थारुले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार