१४ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता : डोटी च्याम्यिन




धनगढी /
धनगढीमा आयोजना गरिएको प्रथम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि डोटीले जितेको छ ।

फाइनलमा डडेल्धुरालाई ३–० को सोझो सेटले पराजित गर्दै डोटीले उपाधि जितेको हो ।

पहिलो सेट २५–२२ ले जितेको डोटीले दोश्रो सेट सजिलै २५–१३ ले जित्यो । त्यस्तै तेस्रो सेटमा १७–१७ को बराबरीपछि पनि डडेल्धुरा लयमा नफर्कदा डोटीले २५–२१ ले जित्दै च्याम्पीयन भएको हो ।

उपाधीसँगै डोटीले नगद एक लाख सहित ट्रफी पाएको छ भने डडेल्धुराले नगद ५० हजार सहित ट्रफीमा चित्त बुझाएको छ । यस्तै प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टीम कैलाली र कन्चनपुरले २५/२५ हजार नगद सहित ट्रफी पाएका छन् । विभिन्न ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइएको छ ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी डोटीका प्रसान्त साहु भए । त्यसैगरी कञ्चनपुरका सन्तोष महत्ता उत्कृष्ट ब्लकर, कैलालीका महेश खत्री उत्कृष्ट लिफ्टर, डडेल्धुराका वीरवहादुर विक उत्कृष्ट स्पाईकर र डोटीका प्रशिक्षक अनिल जोशी उत्कृष्ट प्रशिक्षक भए ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक समारोह बीच पुरस्कार वितरण गरिएको । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको प्रतियोगिताको समापन समारोहका सभापति परिषदका सदस्य सचिव दीपकबहादुर सिंह रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम सरकारका सामाजिक विकास मन्त्री लालवहादुर खड्का र विशिष्ठ अतिथि आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी रहेका थिए ।

सुदूरपश्चिम खेलकुद परिषद्को वार्षिक कार्यक्रम अनुसार भएको प्रतियोगितामा प्रदेशका ९ वटै जिल्लाका टीमहरूको सहभागिता रहेको थियो । सुदूरपश्चिममै पहिलो पटक म्याटमा प्रतियोगिता सञ्चालन भएको हो ।

प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरूलाई समेटेर सुदूरपश्चिम प्रदेशको भलिबल टीम बनाइने भएको । ती खेलाडीहरूलाई प्रशिक्षणको व्यवस्था गरी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाइने सुदूरपश्चिम खेलकुद परिषद्ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार