१३ बैशाख २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्यमन्त्रीद्वारा उद्घाटन



राष्ट्रलाई चिनाउने खेलाडीको सम्मानमा प्रदेश सरकार अग्रसर रहेको भट्टको दाबी


धनगढी /
कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको आज सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले एक समारोहकाबिच उद्घाटन गरेका छन् ।

प्रदेश खेलकुद परिषद्को आयोजनामा नौ वटैका खेलाडीको प्रतिनिधित्व हुने गरेर प्रदेशस्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकार खेलाडीको सम्मान तथा खेलकुदको विकासका लागि अग्रसर रहेको बताए ।

‘राष्ट्र तथा प्रदेशलाई चिनाउनका लागि अग्रसर रहेका खेलाडीको सम्मान र खेल क्षेत्रको विकासका लागि पूर्वाधारको व्यवस्थापनमा प्रदेश सरकारले कुनै कमी गर्ने छैन,’ उनले भने, ‘सुदूरपश्चिम सरकारले खेलकुदको विकासका लागि कार्यकालको सुरुवातबाटै मुख्यमन्त्री कपको आयोजना गरेको थियो ।

त्यसपछि अहिले ८८ वटै स्थानीय तहमा खेलकुद परिषद्को संरचनाको कामलाई तीव्रता दिएको छ ।’ प्रदेश सरकारले खेलकुद प्रशिक्षणका गतिविधि र सबै जिल्लामा पूर्वाधारको विकासका लागि तीव्रताका साथ काम गरिरहेको मुख्यमन्त्री भट्टको दाबी छ ।

उद्घाटन समारोहमा प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले प्रदेशको खेलकुद क्षेत्रलाई थप चलायमान बनाउन खेलकुद परिषद्लाई थप सक्रिय बनाउने काममा प्रदेश सरकार लागिपरेको बताए ।

प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता २०७८ सुदूरपश्चिम खेलकुद परिषद्को वार्षिक कार्यक्रम अनुसार असोज २३ गतेसम्म धनगढीमा सञ्चालन हुने छ । प्रदेशका ९ वटा जिल्लाका टिमहरूले सहभागिता जनाउने प्रतियोगिताको विजेतालाई नगद एक लाख सहित ट्रफी दिइने पत्रकार सम्मेलनमा सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिताको उपविजेतालाई नगद ५० हजार सहित ट्रफी दिइने छ । प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टिमलाई २५/२५ हजार नगद सहित ट्रफी दिइनेछ भने विभिन्न ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइनेछ ।

प्रतियोगिता सञ्चालनमा झन्डै ५० लाख खर्च हुने अनुमान गरिएको छ । जिल्लाहरूलाई टिम छनोटका लागि सुरुमा ५० हजार दिइएकोमा जिल्लाहरूले आफ्नो जिल्लाको टिम छनोट गरेका छन् । प्रतियोगितामा सहभागी सबै जिल्लाहरूको टिमको यातायातदेखि खाने बस्ने सबै खर्च सुदूरपश्चिम खेलकुद परिषद्ले व्यहोर्ने सदस्य सचिव सिंहले बताए ।

सुदूरपश्चिममै पहिलो पटक म्याटमा प्रतियोगिता सञ्चालन हुँदै छ । प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरूलाई समेटेर सुदूरपश्चिम प्रदेशको भलिबल टिम बनाइने सिंहले बताए ।

उनले ती खेलाडीहरूलाई प्रशिक्षणको व्यवस्था गरी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाइने सुदूरपश्चिम खेलकुद परिषद्ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार