१५ बैशाख २०८१, शनिबार

पवन मधुश्रीकाे ‘बेलखेत पुल’सार्वजनिक (भिडियो सहित)



धनगढी / पवन मधुश्रीको नयाँ लोक झ्याउरे गीत ‘बेलखेत पुल’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । (मधुश्री युटुब च्यानल) बाट गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो।

पवन मधुश्रीको शब्द संगीत, प्रमोद माझी र पम्फा कँडेलको आवाज रहेको ‘बेलखेत पुल’ मा वरिष्ठ नृत्य निर्देशक तथा मोडेल शंकर बिसी, सिर्जना माझी र नमुना माझीको उत्कृष्ट अभिनय रहेको छ । सिर्जना र नमुना मधुश्रीको आफ्नै छोरी हुन् । म्युजिक भिडियोको निर्देशन स्वं शंकर बिसीले गरेका छन।

सरकारी सेवामा आबद्ध पवन मधुश्रीको नाम पदमबहादुर माझी हो । उनी हाल पञ्चदेवल विनायक नगरपालिका अछाममा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा छन् । लेखन, साहित्य तथा संगितमा उनी पवन मधुश्रीका नामले परिचित छन । लामो समयदेखि पवन मधुश्री नामबाट कान्तिपुर, नागरिक, हिमालय टाइम्स, राजधानी दैनिकमा लेख लेख्थे । राजधानी दैनिकमा ‘स्थानीय प्रजातन्त्र’ र पछि ‘चिन्तनको चौतारी’ नाममा उनले स्तम्भ समेत लेख्थे । हाल उनी विभिन्न अनलाइन पोर्टलहरूमा लेख लेखिरहन्छन् ।

मधुश्रीका गाउँले कविता संग्रह, नमुना राजनीति र विकास पुस्तक प्रकाशित छन् । लेखक, साहित्यकार, स्तम्भकारको छवि बनाउनुभएका पवन मधुश्री पछिल्लो पटक गीतकार र संगीतकारको रूपमा समेत आफ्नो परिचय विस्तार गर्दै छन् । मधुश्रीका यसअघि ‘इतिहास, ‘आमा’ र ‘माटो’ म्युजिक भिडियो बजारमा आइसकेका छन् । ‘इतिहास’ र ‘माटो’ देशभक्ति गीत हुन् भने ‘आमा’ जननी जन्म दिने आमाप्रति समर्पित गीत हो । यी सबै गीतको शब्द संगीत मधुश्रीको नै रहेको छ भने चर्चित गायिका शान्तिश्री परियार र गायक प्रमोद माझीले आवाज दिएका छन् ।

बेलखेत पुल लोक झ्याउरे गीत हो । दशैं, तिहार, मेला पर्व, वनभोज तथा चाडबाड माहौलमा युवा पुस्तलाई कम्मर मर्काएर नचाउन निकै उत्कृष्ट देखिन्छ । अछाम र दैलेख जिल्लाको सिमानामा बहने कर्णाली नदीमाथि मध्यमहाडी लोकमार्ग क्षेत्रमा निर्मित बेलखेत पुललाई गीतको प्रमुख थेगो बनाइएको छ । गीतले यो क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने मधुश्रीले बताए ।

साथै युवा युवतीबीच हुने प्रेमलापलाई यो गीतले राम्रोसँग परिभाषित गरेको देखिन्छ । पवन मधुश्रीको ‘जुनी र कर्णालीको व्यथा’ सार्वजनिक हुने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार