१६ चैत्र २०८०, शुक्रबार

मदन भण्डारीका प्रिय गायक थिए जेबी टुहुरे



काठमाडौं / ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँद छ, लाखौँको लागि उजाड छ यो देश, मुठीभरलाई त स्वर्ग छ’, ‘आमा दिदीबहिनी हो, छोराहरू हो छोरीहरु हो,’ ‘आँधी खोलैले मलाई रोइरहने बनायो साउको जालैले’ जस्ता दर्जनौं जनवादी गीतका गायक जेबी टुहुरे अर्थात् जुठबहादुर खड्गी अब रहेनन् ।

७८ वर्षको उमेरमा उपचारका क्रममा उनको बिहीबार बल्खुस्थित बयोधा हस्पिटलमा निधन भएको हो । एक साताअघि ब्रेन स्ट्रोक भएपछि उनलाई उपचारका लागि हस्पिटल भर्ना गरिएको थियो । टुहुरे मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका विरामी थिए ।  २०२४ सालदेखि सांगीतिक क्षेत्रमा प्रवेश गरेका टुहुरेले एक सय ५० भन्दा बढी गीत रेकर्ड गराएका छन् ।

उनी दोस्रो संविधानसभामा तत्कालीन एनेकपा माओवादीबाट समानुपातिक सभासदसमेत बनेका थिए । २०७५ सालमा उनको नाममा जेबी टुहुरे फाउण्डेसन स्थापना गरिएको छ । 

जेबी टुहुरे पञ्चायतकालीन समयमा जनवादी गायकका रूपमा परिचित थिए । उनले गाएका गीत पञ्चायती कालरात्रिविरुद्ध आन्दोलनको आवाज बन्यो, राज्यबाट शोषित र उपेक्षित किसान र मजदुरको आवाज बन्यो । उनी आफ्ना गीतमा असमानताले थिचिएका विपन्नको आवाज बनाउँथे । त्यसैले पनि सबैले उनलाई मन पराएका हुन् ।

सरल र सहज स्वभावका टुहुरे सधैं सत्ताका विरोधी रहे । सत्तामा पुगेपछि आफ्नै साथीहरू पनि परिवर्तन हुने उनको भनाइ थियो । उनले दिएका धेरै अन्तर्वार्तामा यस्ता कुरा आउँथे । तत्कालीन नेकपा मालेका महासचिव मदन भण्डारीसँग टुहुरे धेरै नजिक थिए । ०४६ को परिवर्तनपछि पनि टुहुरे मदनको निवासमा गइरहन्थे । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार