१० श्रावण २०८१, बिहीबार

प्रदेश खाद्य परिषद गठनको माग



धनगढी । खाद्य अधिकार सञ्जाल लगायतका नागरिक संगठनहरूले सुदूरपश्चिम प्रदेशमा प्रदेश खाद्य परिषद गठन गर्न माग गरेका छन् ।

खाद्य अधिकार सञ्जाल लगायतका नागरिक संस्थाहरूले बिहीबार सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीलाई ज्ञापनपत्र बुझाउदै प्रदेश खाद्य परिषद् गठनको माग गरे ।

खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन २०७५ को दफा ३४ मा “प्रदेशमा कृषि मन्त्रीको अध्यक्षतामा प्रदेश खाद्य परिषद् गठन गर्ने व्यवस्था” गरिएको छ । सो परिषद्ले प्रदेशमा खाद्यमा नागरिकको पहु“च बढाउने, खाद्य उत्पादन तथा व्यवस्थापन लगायतका काम गर्ने व्यवस्था रहेको छ ।

ज्ञापनपत्रमा “सो ऐनको दफा ३६ ले व्यवस्था गरे अनुसारको स्थानीय खाद्य समन्वय समिति गठन गर्नुपर्ने, खाद्य तथा पोषण सुरक्षा योजना निर्माण गरी खाद्य असुरक्षामा रहेका समुदायको पहिचान, उत्पादन तथा वितरण प्रणाली सुधार, खाद्यान्नको आपूर्ति तथा गुणस्तर सुनिश्चित गरिनुपर्ने, कोभिड–१९ का कारणले विदेश जान वाध्य नागरीकहरूलाई प्रदेश भित्र रोजगारी सृजना हुने र उत्पादन संग जोडिने अवसरहरू सिर्जना गर्नुपर्ने, प्रदेशमा खाद्य अधिकारका सवालहरू समेटेर कानुन निर्माण गर्नुपर्ने” उल्लेख छ ।

त्यस्तै, खाद्य वितरण प्रणालीको प्रभावकारी कार्यान्वयन, खाद्य गुणस्तरको सुनिश्चितता, खाद्यान्नको प्रर्याप्तता र पहुचको अवस्था सुनिश्चित नभएको, खाद्य अधिकारका दृष्टिले अति जोखिममा रहेका बाढि पहिरोपीडित, मुक्तकमैया, मुक्तहलिया, भूमिहीन, सुकुम्बासी, विकास निर्माणका कारण प्रभावित नागरिक, आरक्ष पीडित, सिंचाईको अभावमा बाली लगाउन नपाएका किसानहरूको खाद्य अधिकारको सवाल सम्बोधन गर्न चुनौती बन्दै गएको ज्ञापनपत्रमा उल्लेख छ ।

खाद्य अधिकारको क्षेत्रमा काम गर्ने फियान नेपालका कार्यकारी निर्देशक अशोक सिंह, याक नेपालका कार्यकारी निर्देशक डबल बम, गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष देविप्रसाद खनाल, फियान नेपालका कानुन तथा क्षमता विकास अधिकृत मुकुन्दबहादुर राना, खाद्य अधिकार सञ्जालका सुदूरपश्चिम संयोजक बलबहादुर रोकाया र खाद्य अधिकार सञ्जाल कैलालीका संयोजक धनपति ढुंगेल सहितले कृषि मन्त्री चौधरीलाई ज्ञापनपत्र बुझाएका थिए । ्
सो अवसरमा सुदूरपश्चिम प्रदेश सभा सदस्यहरू दीर्घबहादुर सोडारी तथा पूर्णा जोशी, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष अर्जुन शाह लगायतले ऐक्यवद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार