७ बैशाख २०८१, शुक्रबार

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु



धनगढी । धनगढी उपमहानगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको शुरुवात गरेको छ ।

बुधबार एक कार्यक्रमबीच नगर प्रमुख नृपबहादुर वड र उपप्रमुख सुशीला मिश्र भट्टले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको ब्यानर खोलेर संयुक्त रुपमा उद्घाटन गरे ।

अभियान आरम्भ कार्यक्रममा नगर प्रमुख वडले यस वर्ष कोभिड–१९ को महामारीका कारण भिड जम्मा गरेर कार्यक्रम सञ्चालन गर्न सम्भव नभए पनि प्रविधिको माध्यमबाट आफ्नो स्थानबाट सुरक्षित रहँदै कार्यक्रम सहित लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सार्थक बनाउन अनुरोध गरे ।

“लैङ्गिक हिंसाको अन्त्य एउटा पक्षको सहभागिताबाट मात्रै सम्भव हुदैन” उनले भने– त्यसका लागि सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक हुन्छ ।

कार्यक्रममा नगर उपप्रमुख भट्टले यस बर्ष ‘लैङिक हिंसा अन्त्यको प्रतिवद्धताः व्यक्ति समाज र सबैको ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नाराका साथ लैङिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको चर्चा गरिन् । उनले भनिन्– यसको अर्थ लिङ्गका आधारमा गरिने हिंसा न्यूनिकरण मात्रै होईन निवारण नै गरेर जानुपर्छ भन्ने नै हो ।

कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगन्नाथ पन्तले लैङ्गिक हिंसाको कारण हाम्रो समाजमा रहेको गलत संस्कार, अन्धविश्वास, मुल्य मान्यता, परम्परा रहेको चर्चा गरे ।

यसैगरी उपमहानगरपालिकाका महिला जनप्रतिनिधीहरूलाई लैङ्गिक हिंसा न्यूनिकरणका लागि सकारात्मक सोच सम्वन्धी तालिम समेत आयोजना गरिएको छ ।

त्यस्तै, कैलालीको कैलारी गाउँपालिका हसुलियामा बृहत र्‍याली प्रदर्शन र अन्तरक्रिया गरेर लैङिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवात गरिएको छ ।

कैलारी गाउ“पालिकाको आयोजना तथा विभिन्न सहकारी संघसंस्थाको सहकार्यमा ‘लैङिक हिंसा अन्त्यको प्रतिबद्धता : व्यक्ति समाज र सबैको ऐक्यबद्धता’ भन्ने मूल नारासहित अभियानको सुरुवात गरिएको हो ।

बृहत र्‍याली तथा अन्तरिक्रया कार्यक्रमलाई गाउँपालिका अध्यक्ष लाजुराम चौधरी, उपाध्यक्ष लक्ष्मी सत्गौंवा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कैलारी गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजना र गाउँपालिका अन्र्तगत क्रियाशिल सहकारी संस्था एवं गैरसरकारी संस्थाहरूको सहकार्यमा लैङिक हिंसा अन्त्यका लागि विभिन्न कार्यक्रम गरिने जनाइएको छ ।

गाउपालिकाका महिला तथा बालबालिका शाखाका प्रमुख बालकुमारी चौधरीले १६ दिने अभियान अन्र्तगत नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न गतिविधि गरिने बताइन् ।

उनले ‘लैङिक हिंसा अन्त्यको प्रतिबद्धता : व्यक्ति समाज र सबैको ऐक्यबद्धता’ भन्ने शीर्षकमा माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता, सचेतनामूलक नृत्य लगायतका कार्यक्रम पनि गरिने जानकारी दिइन् ।

महिला तथा बालबालिका शाखाको आयोजनमा हुने कार्यक्रमलाई कमैया प्रथा उन्मूलन समाज, पारदर्शी महिला विकास बहुउद्देश्यीय संस्था, दलित महिला अधिकार मञ्च, बेस, नेपाल रेडक्रस सोसाइटी, सामाजिक सेवा अध्ययन केन्द्र, समीक्षा महिला विकास बहुउद्देश्यीय सहकारी संस्था, चेतनशील महिला विकास सहकारी संस्था लगायतको सहकार्य गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार