४ जेष्ठ २०८१, शुक्रबार

सशस्त्र प्रहरी बल छाङ्गरुमै बस्ने



दार्चुला । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म बाह्रैमास व्यास गाउ“पालिका वडा नम्बर १ छांगरुमै बस्ने भएको छ । स्थायी रुपमा संरचना निर्माण नभए पनि अहिलेलाई भाडाकै घरमा सशस्त्र प्रहरी पुरै बाह्र महिना छांगरुमै बस्ने जनाइएको छ ।

सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरीको गुल्म नै व्यासको छांगरुमा स्थापना भइसकेकाले अब कुनै पनि हालतमा तल नझर्ने बताए । उनले भने– हामीले सशस्त्र प्रहरीलाई बाह्रैमास बस्ने व्यवस्था मिलाउ“दैछौं । अब त्यहा गएको सशस्त्र प्रहरी तल फर्किदैन ।
शुक्रबार गृहमन्त्री रामबहादुर थापा र सशस्त्र प्रहरी प्रमुख खनालले सशस्त्र प्रहरीको भवनको शिलन्यास गरेका थिए । भवन समयमै सक्न ठेकेदारलाई निर्देशन भएको जनाउ“दै उनले जे अवस्था रहे पनि सशस्त्र प्रहरीको व्यवस्थापन गरिने बताए । गत वैशाख ३१ गते व्यासको छांगरु गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बसेको थियो । गत असार २८ गते बसेको मन्त्रिपरिषदको निर्णयअनुसार व्यासको छाङ्रुमा सशस्त्र प्रहरीको गुल्म स्थापना गर्ने निर्णय भएको थियो ।
सशस्त्र प्रहरी अहिले भारतले अतिक्रमण गरेको कालापानी क्षेत्रभन्दा झण्डै १४ किलोमिटर वरै बसेको छ । अहिले सशस्त्र प्रहरीले छांगरुको गागाबाटै कौवा र तिंकर क्षेत्रसम्म नियमित गस्ती गरिरहेको महानिरीक्षक खनालले बताए । सशस्त्र प्रहरीका लागि १० करोड बजेटमा सुविधासम्पन्न भवन बनाउने गरी ठेक्का लगाइएको छ । ठेक्का प्रक्रियाबाट निर्माण गरिने भवनको सशस्त्र प्रहरीले बाह्रैमास बस्ने गरी डिजाइन गरिएको छ । ढुंगा, माटो र काठबाट बन्ने भवनको छतमा जस्तापाता राखिने छ ।
बहुउपयोग हुने गरी भवनको संरचना बनाइन लागेको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता राजु अर्यालले बताए । १५ रोपनी क्षेत्रफल जमिनमा तीन दर्जन कोठा निर्माण गरिने छन् । तीन तलाको ब्यारेक भवन निर्माणको योजना रहेको उनले जानकारी दिए ।
सशस्त्र प्रहरी प्रमुख खनालले सीमा क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई इमान्दारितापूर्वक काम गर्न निर्देशन दिएका छन् । व्यासको छांगरु र तिंकर क्षेत्रको निरीक्षण भ्रमणपछि सदरमुकाम खलंगास्थित सशस्त्र प्रहरी बल नेपाल नं ४४ गणमा मातहतका कर्मचारीलाई निर्देशन गर्दै उनले सशस्त्र प्रहरीको जिम्मेवारीअनुसार इमानदारितापूर्वक काम गर्न निर्देशन गरेका हुन ।
सांसद गणेशसिंह ठगुन्नाले सीमाका जनताको समस्यालाई समाधान गर्दै अघि बढ्नुपर्ने बताएका छन् । सदरमुकाम खलंगामा आयोजित पत्रकार सम्मेलनमा उनने सीमा क्षेत्रका नागरिकको समस्या समाधानमा कुनै कसर बाँकी नराख्न सरकारलाई आग्रह गरे ।
व्यासको छांगरु क्षेत्रको निरीक्षणबाट फर्किएपछि उनले सीमामा रहेका जनताको समस्या समाधानका लागि सरकारले जिम्मेवारी पूरा गर्नेतर्फ लाग्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार