२२ बैशाख २०८१, शनिबार

सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमित एक हजार भन्दा कम



धनगढी । लामो समयदेखि नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या उच्च रहेको सुदूरपश्चिम प्रदेशमा संक्रिय संक्रमितको दरमा कमी आउन थालेको छ ।

प्रदेश सामाजिक विकास मन्त्रालयले बुधबार सार्वजनिक गरेको कोरोना सम्बन्धि विवरण अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या सात सय ४४ जनामा झरेको छ ।

कुल संक्रमितकाे संख्या चार हजार सात सय ९९ जना मध्ये चार हजार ५५ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १३ जनामा नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप तीन जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । उनले डडेल्धुरामा गरिएको परीक्षणमा डोटीको आर्दश गाउँपालिकाका दुई जना र बैतडीको सुर्नया गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको जनाए ।

त्यसैगरी, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दार्चुलाका पाँच, कैलालीका दुई र कञ्चनपुरका तीन जनामा कोरोना पुष्टी भएको प्रवक्ता गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार