३ जेष्ठ २०८१, बिहीबार

रञ्जनलाई उन्मुक्ति दिने सर्वोच्चको फैसलाको विरोध



लम्की । श्रीमतीको हत्या आरोपमा सर्वस्वसहित जन्मकैद सजाय पाएका पूर्व सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको जेल सजाय घटाएर रिहा गर्ने सर्वोच्च अदालतको फैसलाका विरुद्ध कैलालीमा विरोध प्रदर्शन भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले सजाय भुक्तान गरिरहेका पूर्व डिआइजी रञ्जनलाई कैद सजाय घटाइ उन्मुक्ति दिएको फैसलाको विरुद्ध नेपाल ढकाल समाज कैलालीले शुक्रबार लम्कीमा विरोध जनाएको हो ।

हत्यारा रञ्जनलाई उन्मुक्ति दिने अदालती निर्णय खारेज गर, महिलामाथि हुने हत्याहिंसा अत्याचार बन्द गर, भन्ने ब्यानर सहित विरोध प्रर्दशन भएको थियो ।

सो अवसरमा ढकाल समाज कैलालीका अध्यक्ष रंगनाथ ढकालले साउन ८ गते सर्वोच्च अदालतले गरेको फैसला संविधान विपरित भएको दाबी गरे ।

विरोध सभामा ममता ढकालले डीआईजी रञ्जनले विभत्स तरिकाले श्रीमतीको हत्या गर्ने व्यक्तिलाई जेल सजाय घटाउनु कानुनको अपमान भएको बताईन् । महिला माथि हुने सबैखाले अत्याचारको अन्त्य हुनुपर्ने भन्दै दोषीको पक्षमा सर्वोच्च अदालतलले फैसला गरेकोले न्याय कमजोर भएको बताईन् ।

कार्यक्रममा कृष्णप्रसाद ढकालले दोषीलाई कडा सजाय दिनुपर्नेमा सर्वोच्च अदालतले सजाय घटाएर अपराधको संरक्षण गर्न खोजेको आरोप लगाए ।

विरोध सभामा सञ्जय ढकाल, जनक ढकाल, भगवती ढकाल र विष्णुभक्त शर्मा ढकालले लगायतले सर्वोच्च अदालतले आफ्नो फैसला सच्याएर दोषीलाई कारबाही नगरे आन्दोलनमा उत्रिने चेतावनी दिए ।

२०६८ साल माघमा श्रीमती गीताको हत्या गरेर पूर्व डिआइजी रञ्जनले घटना लुकाउन शव जलाएका थिए । श्रीमतीको हत्या गरेको आरोपमा २०६८ माघ २८ गते थानकोटबाट कोइराला पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार