१८ बैशाख २०८१, मंगलवार

कारबाही गरिएका नेता ओझा समुहको भेला



निर्णय नसच्याइए आन्दोलनको चेतावनी

धनगढी । पाँच वर्षका लागि पार्टीबाट निष्काशन गरिएका नेपाली कांग्रेसका नेता पुष्करनाथ ओझा समर्थक समुहले उनीमाथिको कारबाही निर्णय नसच्याइए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

महासमिति सदस्य तथा पूर्व राज्यमन्त्री ओझालाई काँग्रेसको अनुशासन समितिले पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको आइतबार सार्वजनिक भएको थियो । उनीमाथि गत संसदीय निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ बाट काँग्रेसका उम्मेदवार डाक्टर आरजु राणा देउवालाई हराउन भूमिका निर्वाह गरेको आरोप लगाइएको थियो ।

नेता ओझालाई पार्टीबाट पांच वर्षका लागि कारबाही गर्ने निर्णयप्रति तीब्र असहमति व्यक्त गर्दै उनीपक्षीय कैलालीका नेताकार्यकर्ताहरुको सोमबार भेला भएको थियो ।

कैलाली काँग्रेसका सचिव पूर्ण कुँवरले “विकसित पछिल्लो आन्तरिक घटनाक्रमको समीक्षा र आगामी अधिवेशनको बारेमा छलफल गर्नका लागि भेला बोलाइएको” बताए ।

जिल्ला सचिव कुँवरका अनुसार भेलाले नेता ओझामाथि राजनीतिक प्रतिशोधका आधारमा कारबाही गरिएको निष्कर्ष निकालेको छ । सो भेलामा नेता ओझा निकटका ४१ जना नेताकार्यकर्ताहरुको उपस्थितिमा रहेको बताइएको छ ।

भेलामा सहभागी भएका सबैले नेता ओझामाथि गरिएको कारबाही फिर्ता गराउन दबाबमुलक कार्यक्रम गर्नेमा सहमति गरेका छन् ।

जिल्ला सचिव कुवरका अनुसार भेलाले पहिलो चरणमा पार्टी सभापति शेरवहादुर देउवालाई ज्ञापनपत्र वुझाउने र त्यसपछि चरणबद्ध रुपमा आन्दोलन गर्ने निर्णय गरेको छ । उनले भने– नेता ओझामाथि झुटो आरोप लगाइएको भन्ने भेलाको ठहर हो र यो निर्णय नसच्याइए हामी कडा आन्दोलनमा उत्रिने छौं ।

उनले भने– यो निर्णय अन्यापूर्ण छ, त्यसैले यो निर्णय हामीलाई मान्य छैन । यो निर्णयमा पुनःविचार गरियोस् भन्ने भेलाको ठहर छ ।

२०७० सालको उपनिर्वाचनमा कैलाली क्षेत्र नम्बर ६ (हालको क्षेत्र नम्बर ५) बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेता ओझा २०५६ सालको संसदीय निर्वाचनमा समेत विजयी भएका थिए ।

२०७४ सालको आम निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ बाट पार्टी सभापति देउवा पत्नी डाक्टर आरजुलाई उम्मेदवार बनाइएपछि उनी रुष्ट भएका थिए । सो निर्वाचनमा उनी प्रचारप्रसारमा गएका थिएनन् । निर्वाचनमा काँग्रेस उम्मेदवार डाक्टर आरजु पराजित भएकी थिइन् । निर्वाचनपछि नेता ओझामाथि काँग्रेस उम्मेदवार डाक्टर आरजुलाई हराउन भूमिका निर्वाह गरेको आरोप लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार