कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका २ साडेपानीमा मोटरसाइकल र अटो एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परि मोटरसाइकल चालक कञ्चनपुरको भिमदत्तनगरपालिकाका ४१ वर्षीय कुष्माकर जोशीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
पूर्व बाट पश्चिम आइरहेको अटो र पश्चिम बाट पूर्व गइरहेको म २ प ७९७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा ३ जना घाइते भएका छन् ।
घाइते हुनेमा मोटरसाइकलमा सवार कञ्चनपुरको भिमदत्त नगरपालिकाका २ भाँसीका ४१ वर्षीय जयराज भट्ट, अटो चालक घोडाघोडी नगरपालिका १ कौवाका ३५ वर्षीय पतिराम चौधरी र अटोमा सवार भजनी नगरपालिका ६ की ५० वर्षीय ढक्या चौधरी रहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
घाइतेको सुखड स्थित घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ ।




