४० दिनदेखि मसुरियाबासी आन्दोलित
धनगढी । निजि विद्यालयका सञ्चालक कृष्ण भुसालको मृत्युको घटना छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै आन्दोलित भएका छन् ।
कैलालीको गौरीगंगा नगरपालिका–९ मसुरियामा दबावमुलक प्रदर्शन शुरु गरिएको ४० दिन पुग्समेत सरकारले छानबिनमा चासो नदेखाएको भन्दै आफन्त तथा स्थानीय आक्रोसित बनेका हुन् । गत बैशाख ११ गते पहलमानपुर साथी भेट्न गएका भुसाल सडकमा मृत अवस्थामा फेला परेपछि हत्या गरिएको भन्दै आफन्त तथा स्थानीयले हत्यारा पत्ता लगाई कार्वाही गर्न सरकारलाई दबाव दिन आन्दोलन गरेको मृतकका भाई दिपक भुसालले बताए ।
गौरीगंगा नगरपालिका ९ मसुरियामा रहेको बिहानी क्षितीज बोर्डिङ स्कुलका सञ्चालक एवम् एनप्याब्सनका केन्द्रिय उपाध्यक्ष समेत रहेका ४० बर्षीय कृष्ण भुषाल घोडाघोडी नगरपालिका १० पहलमानपुरबाट एक किलोमिटर पश्चिम कैलाशधाम नजिक सडक छेउमा मृत फेलापरेका थिए । मृतक भुसालको श्रीमती कल्पना भुसालले घोडाघोडी नगरपालिका १० पहलमानपुरमा रहेको पायनियर बोर्डिङ स्कुलका संचालक कुलप्रसाद भट्टलाई भेट्न गएका श्रीमान राती अबेरसम्म घर नपुगेपछि खोजतलास गर्दा पहलमानपुर नजिक सडक छेउमा भेटिएका थिए । हत्या भएको प्रमाण हुदा हुदै हत्यारालाई उम्काउने प्रयास भएको भुसालले बताइन् ।
पक्राउ परेका ब्यक्तिहरु छोडिनु, घटना भएको चालीसदिन पुगिसक्दा पनि प्रहरीले अनुसन्धामा चासो नदिएको भन्दै स्थानीय बासिन्दा आक्रोसित बनेका छन् । लकडाउनको प्रवाह नगरी दैनिक मसुरिया बजारमा आफन्त तथा स्थानीयबासीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेर नाराबाजी र प्रदर्शन गर्दै आएका छन् । स्थानीय बासिन्दा र भुसालका आफन्तले हत्या भएको भन्दै दोषी पहिचान गरी कार्वाही गर्न दबाव दिएपछि प्रदेश सभा सदस्य दिर्घ सोडारी लगायतले सदनमै सरकारसंग घटनाको निश्पक्ष छानबिन गरी दोषीलाई कार्वाहीको माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक अनुपम सम्शेर जबराले मृतक भुसालको अनुसन्धान जारीरहेको बताउदै किटानी जाहेरीमा परेका पाँचजनाको अनुसन्धानका क्रममा प्रमाण नभेटिएकाले तारिकमा छोडिएको बताए । पोष्टमार्टम रिर्पोटमा टाउकोमा ईन्टरनल बिलिडिङ् भएर निधन भएको देखिएको बताउदै घटनाको थप अनुसन्धानका लागि सिआईबीको टोलीसमेत खटिने प्रमुख प्रहरी उपरिक्षक जबराले जनाए ।