५ जेष्ठ २०८१, शनिबार

वडा अध्यक्ष माेटरसाइकल दुर्घटनामा परी घाइते



टीकापुर । टीकापुर नगरपालिका वडा नं.–१ का वडाध्यक्ष गङ्गाराम आचार्य सोमबार राती मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका छन् ।

लकडाउनको वेवास्ता गर्दै टीकापुरको विजयनगर शिविरस्थित कर्ण चौधरीको पसलबाट मदिरा सेवन गरी फर्किने क्रममा नालीमा खसेर दुर्घटनामा परेका वडाध्यक्ष आचार्यको बाँया करङ्ग भाँच्चिएको छ ।

श्रोतका अनुसार टीकापुर नगरपालिका वडा नं.–२ का वडाध्यक्ष प्रकाश बुढाथोकीसँगै मदिरा पिउन बसेका वडाध्यक्षद्वय बीच लकडाउनका कारण प्रभावित अति विपन्न वर्गलाई वितरण गरिएको राहतका विषयमा विवाद भएपछि वडाध्यक्ष बुढाथोकी र आचार्यबीच भनाभन पनि भएको थियो ।

उनीहरूबीच विवाद चर्किन थालेपछि वडाध्यक्ष बुढाथोकीलाई एक समूहले घरतर्फ लगाएको थियो । होटल सञ्चालक चौधरी स्थानीय बडघर समेत हुन् ।

चौधरीकी श्रीमतीले जनाए अनुसार वडाध्यक्ष आचार्यको टोलीले पाँच लिटरको एक जर्किन मौवाको रक्सीसहित १ बोत्तल सिलप्याक सिध्याएका थिए ।

वडाध्यक्ष घर आउने क्रममा नालीमा खसेपछि सामुदायिक वनसँग संलग्न राजीपुरकै एक स्थानीय व्यक्तिले उनलाई उद्दार गरेको बताइएको छ ।

लकडाउनका बखत मदिरा सेवन गरेर वडाध्यक्ष दुर्घटनामा परी करङ्ग भाँच्चिएको घटनालाई ढाकछोप गर्न खोजिएको छ । वडाध्यक्ष आचार्यको अहिले कैलालीकै लम्कि स्थित एक अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार