२३ बैशाख २०८१, आईतवार

सुदूरपश्चिममा नमुना परीक्षण गर्ने केमिकल अभाव



कोरोना रोकथाम तथा नियन्त्रण प्रयास

धनगढी । सुदूरपश्चिम प्रदेशको प्रादेशिक प्रयोगशालामा कोरोना भाइरसको नमुना परीक्षण गर्ने केमिकल अभाव भएको छ । केमिकल अभाव हुँदा न्यून संख्यामा नमुना परीक्षण भइरहेको छ ।

‘बुधबारदेखि केमिकल अभावका कारण खासै परीक्षण हुन पाएको छैन’ सेती प्रादेशिक अस्पतालका कोभिड–१९ उपचार विभाग प्रमुख डाक्टर शेरबहादुर कमरले बिहीबार अनुमोदनसंग भने– ‘हामीले केमिकल माग गरेका छौं । छिट्टै पुग्छ होला ।’ डाक्टर कमरले सेती प्रादेशिक अस्पतालमा बुधबार चार वटा परीक्षण भएकोमा बिहीबार कुनै पनि परीक्षण हुन नसकेको बताए ।

प्रयोगशाला इन्चार्ज रमेश शाहीले हाल २०÷२५ वटा नमुना मात्र परीक्षण गर्न पुग्ने केमिकल मात्र रहेको बताए । उनले भने आज (शुक्रबार) सम्म केमिकल पुग्ने आशा गर।ेका छौं । उनले अहिले अस्पतालमा ४० वटा जति नमुना परीक्षण गर्न मौज्दात रहेको बताए ।

पीसीआर विधिबाट कोरोना संक्रमणबारेको नमुना परीक्षण गर्दा पीसीआर किट र आरएनए एक्पेक्सन किट आवश्यक हुने गरेको छ ।

प्रयोगशालाका प्राविधिक अस्मिता सापकोटाले पीसीआर किटको मौज्दात भए पनि आरएनए एक्पेक्सन किट सकिएपछि परीक्षण कार्य बन्द भएको बताइन । उनले अत्यावश्यक परीक्षणका लागि १० वटा किट भने राखिएको बताइन ।

धनगढीमा प्रयोगशाला स्थापना भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना पठाउन बन्द गरिएको थियो ।

किट अभावमा पुनः परीक्षण पनि रोकियो

कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका कोरोना संक्रमितको पुनः परीक्षण शुरु गरिएकोमा किट अभावमा रोकिएको छ । अन्य प्रदेशमा निको भएर अस्पतालबाट डिस्चार्ज भएका संक्रमितको पुनः परीक्षण गर्दा तीन जनामा फेरी कोरोना संक्रमण देखिएकोले सुदूरपश्चिम प्रदेशमा पनि निको भएर घर फर्किएका बिरामीको पुनः परीक्षण कार्य अघि बढाइएको थियो ।

अस्पतालका कोभिड–१९ उपचार विभागका प्रमुख डाक्टर शेरबहादुर कमरले अहिलेसम्म एक जनाको मात्र पुनः परीक्षण गरिएको बताए । उनले भने– अरुहरुको परीक्षण गर्ने तयारी भएको थियो, तर प्रयोगशालामा केमिकल अभाव हुँदा पुनः परीक्षण रोकिएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ३४ वर्षीय संक्रमित युवकको थ्रोट स्वाब परीक्षण गरिएको छ । उनमा कोरोना नभएको पुष्टि भएको डाक्टर कमरले जानकारी दिए । डिस्चार्ज भएका चारै जना संक्रमितहरू सुरुको एक साता होम क्वारेन्टाईनमा बसेको र अहिले सबैको स्वास्थ्य अवस्था पनि समान्य रहेको बताए ।

सुदूरपश्चिमको कोरोना विशेष सेती प्रादेशिक अस्पतालबाट धनगढीका ३४ वर्षीय युवक, लम्कीचुहाका २१ वर्षीय युवक र ६१ वर्षीय महिलासंगै कञ्चनपुरका ४१ वर्षीय पुरुष डिस्चार्ज भएका छन् । उनीहरूलाई अस्पतालबाट डिस्चार्ज भएको १४ देखि १८ दिन भईसकेको छ । संक्रमितहरूको लगातार दुई पटक कोरोना रिर्पोट नेगेटिभ आएपछि एक हप्तासम्म होम क्वारेन्टाईनमा वस्नुपर्ने र ७ देखि १० दिनको वीचमा पुनः परीक्षण गर्नुपर्ने मापदण्ड भएअनुसार उनीहरूको पुनः परीक्षणका लागि तयारी थालिएको जनाइएको छ ।

गत चैत महिनामा एकपछि अर्को गरी पाँच जनामा संक्रमण देखिदा त्रसित कैलाली कञ्चनपुरको जनजीवन अहिले २४ दिनसम्म नयाँ संक्रमित भेटिएका छैनन । पछिल्लो पटक बैशाख १ गते कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ की ६१ वर्षीय महिलामा कोरोनाको संक्रमण देखिएको थियो भने त्यसयता कसैमा पनि संक्रमण देखिएको छैन् ।

काठमाडौं र वीरगञ्जमा निको भएका संक्रमितको पुनः परीक्षण गर्दा कोरोना ‘पोजेटिभ’ देखिएको थियो ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले पनि किटको मौज्दात सकिएको बताउँदै संघीय सरकारले पठाउने जानकारी आएको बताए ।

उनले संघीय स्वास्थ्य मन्त्रालयले सुदूरपश्चिम प्रदेशका लागि तीन सय किट पठाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार