१० श्रावण २०८१, बिहीबार

मदिराको नसामा लठ्ठिएर ड्युटीमा गएपछि…



डडेल्धुरा । मदिराको नसामा लठ्ठिएर ड्युटिमा गएका डडेल्धुरा जिल्ला अस्पतालका एक स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रायः मदिरा सेवन गरेर अस्पताल आउने गरेका सिनियर अहेव दिलिपसिंह साउदलाई प्रहरीले तेस्रो पटक नियन्त्रणमा लिएको छ ।

उनी केही महिनाअघि भेरी अस्पताल नेपालगञ्जबाट सरुवा भएर डडेल्धुरा अस्पताल आएका थिए । मंगलबार तेस्रो पटक उनलाई नियन्त्रणमा लिएर थुनामा राखेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए ।

प्रहरी नायव उपरीक्षक न्यौपानेले भने– हामीले नियन्त्रणमा लिएर थुनामा राखेका छौं, उनीलाई कारबाहीका लागि अस्पताल प्रशासनले निर्णय लिन्छ । उनले अस्पताल प्रशासनको मौखिक उजुरीका आधारमा सिनियर अहेव साउदलाई नियन्त्रणमा लिएको बताए ।

अस्पताल स्रोतका अनुसार सिनियर अहेव साउदले दैनिकजसो मादक पदार्थ सेवन गरेर अस्पतालमा होहल्ला गर्ने गरेका छन् । ‘डडेल्धुरा अस्पतालको इर्मेजेन्सी वार्डमा काम गर्ने उनले बिरामी मात्र होइन, अस्पताल प्रशासनलाई समेत हैरान पारेका छन,’ स्रोतको भनाइ छ । केही समय अघि मात्रै सरुवा भएर डडेल्धुरा आएका अहेब साउँदलाई प्रहरीले तीन पटक थुनामा राखिसकेको छ ।

डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट जगदीश विष्टले ९ बजे प्रहरीले नियन्त्रणमा लिएर किन समातेको हो जानकारी नभएको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘९ बजे सडकबाटै प्रहरीले पक्राउ गरेको छ किन गरेको हो भने थाहा छैन । केही अनैतिक काम गरेको होला । हामी छलफल गर्दैछौं ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार