१० श्रावण २०८१, बिहीबार

खटाएको ठाउँमा चिकित्सक जान नमानेको भन्दै स्वास्थ्य मन्त्रालयमा निवेदन



धनगढी । खटाएको ठाउँमा चिकित्सक जान अटेर गरेपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई गुहारेको छ। 

बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा खटिन डा राजु राज चौधरीलाई पत्राचार गरिएपनि उनले अटेर गरेको भन्दै निर्देशनालयले मन्त्रालयलाई गुहारेको हो। उक्त स्वास्थ्य केन्द्रमा यथाश्रिघ चिकित्सकको व्यवस्थापन गर्न माग गर्दै प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले मन्त्रालयलाई निवेदन गरेको छन्। 

उक्त स्वास्थ्य केन्द्रमा लामो समयदेखि चिकित्सकको पदपूर्ति हुन नसकेको र कोरोनाको उपचारमा चिकित्सकको अभाव भएपछि निर्देशनालयले बाजुरा जिल्ला अस्पतालमा कार्यरत चिकित्सकमध्ये एक जना खटाउन पत्राचार गरेको थियो। तर बाजुरा अस्पतालले चिकित्सक खटाउन नसकिने भनी स्वास्थ्य निदेशनालय डोटीलाई जानकारी गराएको थियो। 

त्यसपछि छात्रवृत्तिमा अध्ययनरत डा राजु राज चौधरीलाई कोरोना महामारी नियन्त्रण नहुन्जेलसम्मका लागि खटिएकै ठाउँबाट तलब भत्ता पाउने गरी कामकाज गर्न पुनः पत्राचार गरिएको निवेदनमा उल्लेख छ।

तर डा चौधरीले स्वास्थ्य निर्देशनालय दिपायल डोटीबाट गरिएको पत्राचारको अवज्ञा गरी काज गर्न खटाएको ठाउँमा जान अटेर गरेको भनिएको छ।

महामारीको रोकथाम तथा नियन्त्रण गर्न उक्त स्वास्थ्य केन्द्रमा तत्काल चिकित्सकको व्यवस्थापन गर्न डा अवस्थीले माग गरेका छन्। चिकित्सकको व्यवस्थापन हुन नसके आफुलाई भए पनि काजमा खटाउन मन्त्रालयलाई उनले आग्रह गरेका छन्। 

डा अवस्थीले पठाएको निवेदन सामाजिक सञ्जालमा पनि सार्वजनिक भएको छ। बाजुरा जिल्ला अस्पतालका २ डाक्टरमध्ये एक जनालाई अन्यत्र पठाउन खोजेर निर्देशनालयले अन्याय गरिरहेको र यस्तो विषम परिस्थिमा दुई जना डाक्टरले मात्र सिंगो जिल्लाको स्वास्थ्य सेवा हेर्न सक्छन् भन्नु गलत रहेको भन्दै आलोचाना गरिरहेका छन्। सामाजिक सञ्जालमा कोरोनाको विषम परिस्थितीमा डाक्टरको व्यवस्थापन गर्न नसकेको भन्दै डा अवस्थीको आलोचना भएको हो। 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार