४ जेष्ठ २०८१, शुक्रबार

गोविन्दको शहादतको तीन वर्ष : सिमा विवाद अझैं कायमै



पुनर्वास (कञ्चनपुर) । २०७३ साल फागुन २६ गते कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ४ गोविन्द बजार (साविक आनन्द बजार) मा भारतीय सिमा सुरक्षा बल (एसएसबी) को गोली प्रहारबाट गोविन्द गौतमले शहादत प्राप्त गरे ।
भारतीय पक्षले नेपाली भूमिमा कल्र्भट निर्माण गर्न थालेपछि स्थानीय नेपालीले विरोध गर्दा भएको झडपमा एसएसबीले चलाएको गोली लागेर कञ्चनपुर पुनर्वास वडा नम्बर ४ का गोविन्दको मृत्यु भएको थियो ।
२०५६ सालको नापी सर्भेले सो कल्भर्टभन्दा ५० मिटर वर नक्सांकन गरेपछि नेपाली नागरिक र भारतीय सुरक्षाकर्मीबीच झडप भएको थियो । झडपमा बेलौरी नगरपालिका वडा नम्बर ६ शान्तिपुरका टीकाराम चापागाईं घाइते भएका थिए । गोविन्दले ज्यान गुमाएको तीन वर्ष भइसकेको छ, तर अहिले पनि सो क्षेत्रको सीमा विवाद कायमै रहेको छ ।
पुनर्वास नगरपालिका वडा नम्बर ४ का कर्ण सुनारले खेतीयोग्य जग्गा उपभोग गर्न नपाएको १८ वर्ष भइसकेको छ । नेपाल भारत सीमा क्षेत्रको २०० नम्बर पिल्लरमा रहेको उनको खेतीयोग्य जमिन भारतीय पक्षले उपभोग गर्न दिएका छैनन् ।
कर्णले भने– हातमा लालपुर्जा छ, तर २०५६ सालको नापी सर्भेले जग्गा भारतमा पारिदियो । उनले आफनो १५ कठ्ठा जमिन २०५८ सालदेखि उपभोग गर्न नपाएको बताए ।
स्थानीय मानबहादुर सुनारले जग्गा उपभोग गर्न पाए पनि उनको जग्गा पनि भारतमै परेको छ । उनले भने– मेरो दुई बिघा जग्गा रहेको छ । अहिले त उपभोग गरिरहेको छु, तर भोली के हुने हो भन्ने थाहा छैन ।
स्थानीय दीपेन्द्रबहादुर शाहीले घटनाको तीन वर्ष भइसक्दा समेत सीमाबारे कुटनीतिक पहल नहु“दा भारतीय सुरक्षाकर्मीबाट सास्ती भोगिरहनुपरेको गुनासो गरे । उनले भारतीय एसएसविले महिलामाथि दुव्र्यवहार गर्ने, कुटपिट गर्ने लगायतका गतिविधि अझै कायमै रहेको बताए । उनले भने– हामीले कहिलेसम्म दुःख पाउने ?’
अझै भएन कुटनीतिक पहल
गोविन्दले नेपाली भूमिको रक्षाका लागि ज्यान गुमाएपछि सरकारले सीमा अतिक्रमण हटाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेको थियो । त्यतिवेला पुष्पकमल दाहाल नेतृत्वको सरकार रहेको थियो ।
२०७३ साल चैत १२ गते तत्कालिन उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी पुनर्वास पुगेर सीमानामा हुने कुनै पनि अतिक्रमण र हस्तक्षेप सरकारले स्वीकार नगर्ने, राष्ट्रियता, स्वाभिमान र भौगोलिक अखण्डता सरकारको पहिलो प्राथमिकता भएको बताएका थिए ।
तत्कालीन गृहमन्त्री निधिले आनन्द बजारमा भएको घटनामा भारतीय सुरक्षाकर्मीको गोली लागेर गोन्दिको निधन भएको विषयमा भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुस्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहस“ग प्रमुख मुद्दा बनाएर विषय उठान गरेको सो समयमा जानकारी दिएका थिए ।
माग पनि अधुरै
गोविन्दले शहादत प्राप्त गरेपछि स्थानीयहरूले अवैध नाकाहरू बन्द गर्नुपर्ने, सीमाको यकिन गरि पिल्लर निर्माण गर्नुपर्ने लगायतका माग राख्दै आएका थिए । साविक आनन्दबजारबासीसंग यी माग पुरा गर्ने सहमति भएपछि स्थानीयको आक्रोस शान्त भएको थियो । शहीद गोविन्दको परिवारको माग अनुसार साविकको आनन्दबजारको नामाकरण गोविन्दबजार राखिएको छ । उनको स्मृतिमा शालिक निर्माण गरिएको छ भने अस्थायी रुपमा कल्भर्टको छेउमा सशस्त्र सीमा सुरक्षा बलको पोष्ट राखिएको छ ।
शहीद परिवारले ‘यथार्थ सीमा कायम गर्नुपर्ने’ मुख्य माग भने अझै पुरा भएको छैन् । शहीद गोविन्दका बुबा खेमलालले भने– छोराको योगदानको अहिलेसम्म कदर भएको छैन । उनले छोराले स्वेदशको भूमिको संरक्षणका लागि ज्यान गुमाए पनि सरकारले भने अझै अतिक्रमित भूमि फिर्ता ल्याउन कुटनीतिक पहल गर्न नसकेको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार