१८ बैशाख २०८१, मंगलवार

कांग्रेसद्वारा हेल्थ डेस्क तथा सिमास्तम्भको अनुगमन



धनगढी । सुदूरपशिचम प्रदेश सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसको रोकथामका लागि सिमानाकामा स्थापना गरिएका हेल्थ डेस्कहरूको मंगलबार अनुगमन गरेको छ ।
प्रमुख प्रतिपक्षी कांग्रेसले मंगलबार नै कञ्चनपुरको पुनर्वासदेखि गड्डाचौकीसम्मका नयाँ निर्माण गरिएका सीमा स्तम्भ तथा निर्माणाधीन पिल्लरको पनि स्थलगत अनुगमन गरेको छ ।
सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्ष दलका नेता डाक्टर रणबहादुर रावलसहितको टोलीले नयाँ निर्माण भएका सिमास्तम्भका कारण नेपाली भूभाग गुमाउनु परेको अवस्था सिर्जना भएको औल्याएको छ ।
प्रमुख प्रतिपक्ष नेता रावलले नापी विभाग, संयुक्त सिमा सर्भे टोली र सरकारको कमजोरीका कारण नेपालीले आफ्नो भूमि गुमाउनुपर्ने अवस्था आएको बताए । कञ्चनपुरमा सिमास्तम्भहरूको अनुगमनपछि उनले भने– सन् १९८० सालदेखि नै प्राकृतिक नदी तथा ताललाई सीमा क्षेत्र मानिदै आएको थियो । तर, अहिले ती क्षेत्रभन्दा धेरै वर नेपाली भूमि मिचेर सिमास्तम्भ निर्माण भइरहेका छन् । उनले नदीले धार परिवर्तन गर्ने भए पनि नेपाल सरकारले निर्माण गरेका नहर मै पनि अहिले नया“ पिल्लर निर्माण हुन लागेकोमा असन्तुष्टि व्यक्त गरे ।
अनुगमन टोलीले मंगलबार नै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नरहरि खतिवडालाई भेटेर सीमाका विषयमा सर्तकता अपनाउन ध्यानाकर्षण गरेको छ । नेता रावलले प्रमुख जिल्ला अधिकारी खतिवडासंग भने– तत्काल यो समस्या समाधान गरिएन भने ठुलो आक्रोस सिर्जना हुनसक्छ ।
सो अवसरमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी खतिवडाले अहिले विवादित क्षेत्रमा नया“ सिमास्तम्भ निर्माण कार्यमा रोक लगाइएको बताए । उनले भने– कोरोनो भाइरस संक्रमणको समस्याका कारण अहिले नापी विभागको टोली आएका छैन । कोरोना नियन्त्रण भएसंगै टोलीले स्थलगत अध्ययन गरि पुनः नापी सर्भे गर्ने छ ।
त्यस्तै अनुगमन टोलीले धनगढीको हेल्थ डेस्कमा कोरोना भाइरस नियन्त्रणका लागि आइसोलेसन वार्ड खडा गरिएको भए पनि कञ्चनपुरको गड्डाचौकीमा भने स्थापना नगरिएको पाइएको बताए । उनले भने– गड्डाचौकी यस प्रदेशको सबैभन्दा चहलपहल हुने नाका हो, तर यहीको व्यवस्थापन कमजोर देखिन्छ । उनले हेल्थ डेस्कमा स्वास्थ्यकर्मी र आवश्यक उपकरणको पनि अभाव रहेको बताए ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी खतिवडाले हेल्थ डेस्कलाई थप सुदृढ गर्दै लैजाने प्रयास भए पनि आवश्यक उपकरणहरू प्राप्त गर्न नसकेको गुनासो गरे । उनले भने– दैनिक चार हजार बढी भारतीय यस नाकाबाट नेपाल प्रवेश गर्छन, तर त्यहा ‘गन’ (मानिसको तापक्रम चेकजा“च गर्ने उपकरण) दुई वटा मात्र छ । हामीले अझै ‘गन’ थप्ने भनेका थियौ, तर अभाव रहेको छ ।’ उनले आवश्यक स्रोत र साधन संघ र प्रदेश सरकारसंग माग गरेको बताए ।
प्रमुख जिल्ला अधिकारी खतिवडाले ‘हेल्थ डेस्कलाई सुदृढ र व्यवस्थित बनाउन रकमको अभाव नभए पनि त्यसले मात्रै समस्या समाधान नहुने बताए । उनले भने– संघ, प्रदेश र स्थानीय सरकार सबैले माग अनुसारको रकम दिन्छु भनेका छन्, तर रकमले चेकजाँच त हुने होइन् ।
उनले कोरोना भाइरसको जोखिम गड्डाचौकी नाकामा रहेको बताए । उनका अनुसार शनिबार गड्डाचौकीबाट पा“च हजार छ सय आठ, आईतबार तीन हजार सात सय ६९ र सोमबार चार हजार सात सय ७१ जना प्रवेश गरेका थिए । त्यस्तै, मंगलबार सा“झसम्म तीन हजार सात सय सो नाकाबाट प्रवेश गरिसकेका थिए ।
टोलीमा प्रदेश सभा सदस्यहरू टेकबहादुर रैका, डिल्लीराज पन्त, दिव्यश्वरी शाह, श्यामलाल राना र अम्बि कुमारी थापा रहेका थिए ।

जनमोर्चाको मोटरसाईकल र्‍याली

यसैबीच, राष्ट्रिय जनमोर्चा नेपाल, सुदूरपश्चिम प्रदेश समितिले कञ्चनपुरको गड्डाचौकीदेखि पुनर्वाससम्म मोटरसाईकल र्‍याली गरेको छ ।
कञ्चनपुरको पुनर्वासदेखि गड्डाचौकी सम्मका नेपाली भूमि भारतमा पारिएपछि राजमोको एक टोलीले स्थलगत निरिक्षण सहित मोटरसाईकल र्याली गरेको हो ।
र्‍यालीमा जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्ट, प्रदेश अध्यक्ष नन्दराज भट्ट लगायतका जिल्लाका पदाधिकारी तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
सो अवसरमा जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टले सरकारले कुटनीतिक हिसाबबाट सीमा विवादको समस्या समाधान गर्नुपर्ने बताए । उनले भने– नेपालीले वर्षौदेखि उपभोग गर्दै आएका अधिकांस भुमि भारतमा पारिएका छन् । अहिले नया“ सीमा स्तम्भहरू पनि खडा गरिएका छन् ।’ उनले सरकारले आफनो भुमि फिर्ता ल्याउन कुनै कदम नचाले जनस्तरबाट दबाब कार्यक्रम अघि बढाइने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार