११ बैशाख २०८१, मंगलवार

पार्टीको निर्देशन बमोजिम सरकार चल्नुपर्छ– नेपाल



धनगढी/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बरिष्ठ नेता माधवकुमार नेपालले सरकार पार्टीको निर्देशन बमोजिम चल्नुपर्ने जिकिर गरेका छन् ।
केही दिनदेखि नेकपामा पार्टी र सरकारबीचको सम्बन्ध तथा विवादप्रति संकेत गर्दै नेता नेपालले पार्टीले गरेको निर्णय सरकारले मान्नुपर्ने बताए ।
नेकपा सुदूरपश्चिम कमिटीले सोमबार धनगढीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलामा उनले अबको कार्यभार आर्थिक क्रान्ति नै भएको बताए । उनले भने– अहिले नेतृत्व सामु पास वा फेलको अवस्था आइसक्यो । जुन नेतृत्वले आर्थिक क्रान्तिको कार्यभार पुरा गर्छ ऊ नै अबको नेता हुने छ ।
नेता नेपालले चर्का र लोकप्रिय नाराले मात्र लोकप्रिय पार्टी बन्न नसक्ने बताए । भने– नया चिन्तन, चेतना, जागरण र व्यवहारबाट असल नीति र क्रियाशिलताबाट मात्रै लोकप्रिय पार्टी निर्माण हुन्छ ।
कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले समृद्ध नेपाल सुखी नेपालीको नारा पुरा गर्न सरकारले पाच वटा आधार तयार पारेको चर्चा गरे । उनले कृषिको आधुनिकरण, हरेक प्रदेशमा औद्योगीक क्षेत्र निर्माण, नेपालको पानी जनताको लगानी सहित उर्जाको विकास, प्रकृतिलाई ब्यवस्थापन गरी पर्यटन विकास र पूर्वाधारको विकास रहेको बताए ।
त्यस्तै, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान संस्थागत गरिएका उपलब्धीहरुलाई कार्यान्वयन गर्दै नेपाली जनतालाई सामाजिक आर्थिक, रुपान्तरण दिन जरुरी रहेको बताए ।
“राजनीतिक परिवर्तन गरियो, उपलब्धीहरुलाई संविधानमा संस्थागत गरियो’ उनले भने– अब संविधानमा संस्थागत भएका उपलब्धीलाई कार्यान्वयन गरी जनतालाई सामाजिक र आर्थिक रुपान्तरण दिन जरुरी छ ।’
कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकारले गरेको विकास योजनाहरुको चर्चा गरे । उनले डुडेझारी र दैजि–छेला औद्योगिक क्षेत्र, हरैया विशेष आर्थिक क्षेत्रको काम यसैवर्ष अगाडि बढाइने दोह¥याए ।
कार्यक्रममा नेकपा स्थायी कमिटि सदस्य भीम रावल, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट लगायतका नेताले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाको अध्यक्षतामा भएको थियो ।
प्रशिक्षण कार्यक्रममा नेकपाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य, प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न तहका पार्टी कमिटीका पदाधिकारी तथा नेकपाका कार्यकर्ताहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार