२७ पुष २०८१, शनिबार

डडेल्धुरा अस्पतालको सेवामा सुधार



डडेल्धुरा । डडेल्धुरा अस्पतालमा दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सकको पदपूर्तिसंगै उपचार सेवामा सुधार आउन थालेको छ । केही अघिसम्म चिकित्सकको अभाव झेलिरहेको डडेल्धुरा अस्पतालमा अहिले विशेषज्ञ चिकित्सकको पदपूर्ति भएको छ ।
डडेल्धुरा अस्पतालले सुदूरपश्चिम प्रदेशका बैतडी, दार्चुला, डोटी, बझाङ लगायतका जिल्लाका बिरामीलाई उपचार सेवा प्रदान गरिरहेको छ ।
डडेल्धुरा अस्पतालमा संघीय सरकारको मातहतमा रहेको छ । अहिले अस्पतालमा नौ जना विशेषज्ञ चिकित्सक रहेका छन् । अस्पतालका डाक्टर राजन शाहका अनुसार हाल दुई जना स्त्रीरोग विशेषज्ञ, एक जना हाडजोर्नी विशेषज्ञ, एक जनरल फिजिसिएन, एक दन्तरोग, एक एनेस्थेसिया, दुई जना बालरोग विशेषज्ञ र एक जना एमडिजिपी चिकित्सक कार्यरत छन् ।
अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर जगदीशचन्द्र विष्टले विशेषज्ञ चिकित्सकको पदपूर्तिसंगै हाडजोर्नी, बालरोग, महिला तथा प्रसूति रोग, इन्डोस्कोपीसहित सेवा सञ्चालनमा आएको बताए ।
स्त्रीरोग विशेषज्ञ डाक्टर शाहले अस्पतालले आङ खस्ने रोगेको पनि उपचार तथा सल्यक्र्रिया सेवा शुरु गरेको बताए ।
यसैबीच, डडेल्धुरामा दक्ष प्रसूति प्रदायक तालिम सुरु भएको छ । नेपाल सरकारको मातृ मृत्युदर र बाल मृत्युदर कम गर्ने उद्देश्यका साथ स्वास्थ्य तालिम केन्द्र, धनगढीले तालिम शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार