१० श्रावण २०८१, बिहीबार

हात्तीपाइले रोग निवारणका लागि नगरस्तरीय योजना तर्जुमा कार्यक्रम



धनगढी । हात्तपाइले रोग निवारण कार्यक्रम, २०७६ अन्तर्गत बुधबार धनगढीमा नगर स्तरीय योजना तर्जुमा कार्यक्रम भएको छ ।
योजना तर्जुमा कार्यक्रमको धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले उद्घाटन गरे । सो अवसरमा नगर प्रमुख वडले हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सबैको सहयोगका लागि आग्रह गरे ।
नगर प्रमुख वडले उपमहानगरपालिका क्षेत्रमा अझै पनि थुप्रै व्यक्ति हात्तीपाईले रोग विरुद्धको औषधी खानबाट छुटेको तथ्यांक रहेकोले यस पटकको अभियानमा यस्तो समस्या दोहोरिन नदिन स्वास्थ्यकर्मी तथा अभियानमा संलग्न सबै सजग हुन आग्रह गरे ।
उनले भने– कतिपय पढेलेखेका ब्यक्तिहरू पनि हात्तीपाईले रोग विरुद्धको औषधी खान चाहन्नन् भन्ने सुनिन्छ । त्यस्तै, कतिपय स्वास्थ्यकर्मीहरूले पनि सो औषधी खादैनन् भन्ने पनि सुनिन्छ ।
आगामी २५ गतेदेखि धनगढी उपमहानगरपालिकामा हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने अभियान शुरु हुदैछ ।
धनगढी उपमहानगरपालिका स्वास्थ्य महाशाखाका अधिकृत लक्ष्मी उपाध्यायले हात्तीपाईले बिरुद्धको औषधी लगातार छ वर्षसम्म नछुटाएर खानुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार