१० श्रावण २०८१, बिहीबार

टीकापुरमा छाउगोठ भत्काउने अभियान, एकैदिन ३७ गोठ भत्काइए



टीकापुर । कैलालीको टीकापुर नगरपालिकामा छाउगोठ भत्काउन शुरु गरिएको छ । आइतबार टीकापुर नगरपालिका वडा नम्बर ८ बाट छाउगोठ भत्काउन शुरु गरिएको छ ।


टीकापुर नगरपालिका वडा नम्बर ८ को सूर्यपुर र अर्नुवामा गरी ३७ गोठहरू भत्काइएका छन् ।
राष्ट्रिय आधारभूत विद्यालयमा भएको कार्यक्रममा टीकापुरका नगर प्रमुख तपेन्द्रबहादुर रावलले महिनावारी भएका महिलामाथि छुवाछुत गर्ने व्यक्ति तथा परिवारलाई स्थानीय तहबाट प्रदान गरिने सेवा सुविधा रोकिने बताए । उनले महिनाबारी भएका महिलालाई छाउगोठमा राख्ने सरकारी कर्मचारीलाई कारवाही गरिने बताए ।
कार्यक्रममा वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले छाउगोठ भत्काउन सबै वडाबासीको सहयोग र समर्थनका लागि आग्रह गरे ।
सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष धनसिंह साउद, बलराम चौधरी, इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक हेमराज भट्ट लगायतले धारणा व्यक्त गरेका थिए ।
आइतबार सूर्यपुरका रत्ना भट्टराईको घरबाट छाउगोठ भत्काउन शुरु गरिएको थियो भने अर्नुवामा मोतिकला बुढाको छाउगोठ भत्काइएको थियो । स्थानीय जनक साउद, गंगा विक, पहलसिंह टमट्टा लगायतले आफैले छाउगोठ भत्काएका थिए ।
छाउगोठ भत्काउने अभियानमा स्थानीय महिलाहरू, स्थानीय टोल विकास संस्था, प्रहरी चौकी कालाकुण्डा, सशस्त्र प्रहरीले सहयोग गरेको थियो ।
टीकापुर नगरपालिकाले तीन चरणको कार्ययोजना बनाई छाउपडी कुप्रथा हटाउने् अभियान अघि बढाएको जनाएको छ ।
अल्पकालिन योजनामा माघ महिनाको पहिलो सातासम्म सम्झाइबुझाई छाउगोठ हटाइसक्ने, चैत महिनासम्म महिनाबारी व्यवस्थापनका लागि सेनिटरी प्याड पुर्याउने, विद्यालयमा प्याड जलाउने व्यवस्था गर्ने र त्यसपछि महिला हिंसा, बालबिवाह रोक्न एकीकृत कार्यक्रमबनाई सबै गाउमा सचेतना कार्यक्रम चलाउने भएको छ ।
अभियान चलाउन उपप्रमुखको नेतृत्वमा छाउपडी कुप्रथा हटाउन कार्यदल, वडाध्यक्षमा वडा कार्यदल र छाउपडी प्रथा धेरै मान्ने गाउमा गाउ कार्यदल गठन गरिएको छ । भने नगर प्रमुखको संयोजकत्वमा अनुगमन निर्देशन समिति पनि बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार