१० श्रावण २०८१, बिहीबार

जरिवाना रकमलाई घुस भनेर फसाइएको दाबी



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडामा रहेको सिद्धनाथ सामुदायिक वनका पदाधिकारीहरूले सामुदायिक बनभित्र जबरजस्ती माटो उत्खनन् गर्ने (चोर्ने) व्यक्तिसंग जरिवानावापत लिइएको रकमलाई घुस भनेर फसाइएको दाबी गरेका छन् ।

गत २१ गते सो सामुदायिक वनका अध्यक्ष कुबेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगर कार्यालयले एक लाख ६० हजार रुपैया घुस लिएको आरोपमा पक्राउ गरेको थियो ।
सो सामुदायिक वन उपभोक्ता समूहले शनिबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा झ्ठो आरोपमा पक्राउ गरिएका अध्यक्ष थापा र कोषाध्यक्ष सिंहलाई तत्काल रिहा गर्न पनि माग गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगर कार्यालयले पक्राउ गरेका थापा र सिंहलाई हाल थप अनुसन्धानका लागि काठमाडौं लगिएको छ ।
सो सामु्दायिक बनका कार्यबाहक अध्यक्ष अमरबहादुर सिंहले सामुदायिक वनमा जबरजस्ती माटो उत्खनन् गर्ने धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बेलीगाउका दयाराम चौधरीलाई ४० ट्राली माटो निकालेको आधारमा प्रति ट्रालि दुई हजार का दरले ८० हजार रुपैया“ बिगो र बिगो बराबर ८० हजार रुपैया“ जरिवाना गरेर एक लाख ६० हजार रुपैया“ सामुदायिक वनको निमय र कार्यायोजना अनुसार जरिवाना गर्दा घुस भनिएको गुनासो गरे । पत्रकार सम्मेलनमा उनले भने– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आवश्यक कागजातसमेत छानवीन नगरी हाम्रा बन समितिका पदाधिकारीलाई पक्राउ गर्ने काम गरेको छ ।
कार्यबाहक अध्यक्ष सिंहले सामुदायिक बनभित्र जथाभावी माटो उत्खनन् गर्ने व्यक्तिलाई आम भेला बोलाएर जरिवाना गरिएको दाबी गरे । ‘सामुदायिक वनले नियमपूर्वक जरिवाना गर्दा घुस लिएको हुन्छ भने अख्तियारले आमभेलामा उपस्थित सबै उपभोक्तालाई पक्राउ गरोस्’, उनले भने– यदि, होइन भने, निर्दोष हाम्रा अध्यक्ष र कोषाध्यक्षलाई छोड्नु पर्छ ।
बन उपभोक्ता समितिका पदाधिकारीहरुले बनभित्र माटो चोर्ने व्यक्तिलाई नियमानुसार जरिवाना गराउदा उल्टै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेर बन संरक्षणमा लागेका उपभोक्ताहरूलाई निरुत्साहित पारेको आरोप लगाए ।
समूहका कार्यवाहक अध्यक्ष सिंहले दयारामले समुहको आमभेलामा ४० ट्राली माटो चोरी गरेको स्वीकार गरेपछि नै जरिवाना तोकिएको दाबी गरे ।
उनले भने– पुस २० गते आम भेलामा दयारामलाई जरिवाना तोकियो । २१ भरपाई गरी नगदी रसिद काट्न नपाउदै अख्तिारको टोली आएर अध्यक्ष र कोषाध्यक्षलाई पक्राउ गर्‍यो ।
समूहकी सचिव शारदा थापाले अध्यक्ष र कोषाध्यक्षले आम भेलाको मर्म र विधान बमोजिम काम गरेको दाबी गरिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार