१० श्रावण २०८१, बिहीबार

सदरमुकाममै आधा घन्टा बोकेर पानी पिउनुपर्ने बाध्यता



दार्चुला । महाकाली नगरपालिका–४ खलंगामा खानेपानी अभाव भएपछि स्थानीयले वर्षोदेखि समस्या झेल्दै आएका छन् । दार्चुला सदरमुकाम समेत रहेको खलंगा बजारमा वितरण भएको पानी अभाव भएपछि केहि दिनयता स्थानीयले खोलाबाट पानी बोकेर खानुपरेको स्थानीय किसनसिह धामीले बताए ।
पानी अभावमा स्थानीय र होटल व्यवसायीहरुले निकै बढी समस्या भोग्नुपरेको छ । नगरपालिकाको वडा नम्बर ४ मा झण्डै एघार सय घरधुरीमा पाँच हजार ५५६ जनसंख्याले खानेपानी समस्या भोग्दै आएका छन् ।
दार्चुला सदरमुकाम नजिकै रहेको महाकाली नगरपालिका–१ मल्लो लास्कु टोलमा खानेपानी नहुँदा लास्कुखोलाबाट बोकेर खानेपानी पिउनुपरेको स्थानीय अनीता कामीले बताए । लास्कुका एक दर्जन परिवारले आधा घन्टा पानी बोकेर जोहो गर्नुपर्ने बाध्यता छ । एक पटकमा २० देखि ४० लिटरसम्मका जार तथा गाग्रीहरु पिठ्युमा बोकेर पानी पिउनुपर्ने बाध्यता रहेको कामीले बताए ।
छापरी भन्दा केही तल मल्लो लास्कुका १२ परिवारले बर्षौदेखि खानेपानीको माग गरेपनि पानी नपाएको गुनासो गरेका छन् । घरभन्दा टाढाको अङल्या खोलाबाट आधाघन्टा हिडेर स्थानीयले पानी बोक्ने गरेका छन् ।
कामको सिजनमा पानी बोक्ने कि घर खेतको काम गर्ने कामीले भने, कतिदिन त पानी नभएर खाना नै पकाएका छैनौ । मल्लोलास्कुबाट महेन्द्र माबि खलंगामा एक घन्टा हिडेर अध्यनकालागि आउने बिद्यार्थीहरुले बिहान बेलुकी समय मिलाएर पानी बोक्ने गरेको बताएका छन । परिवारका अरु सदस्यहरु काममा ब्यस्त हुदा बिद्यालय समय कटाएर भएपनि पानी बोक्नुपरेको कक्षा १० मा अद्ययनरत छात्रा पार्वती कार्कीले बताइन ।
केही वर्षअघि घरमाथिको पुत¥या खोलाबाट खानेपानी योजना ल्याएको भएपनि धारामा पानी आउँन छोडेको छ । खानेपानीको हरेक वर्ष माग गर्दा समेत पानीको योजना पाएका छैनौ कार्कीले भनिन, यो वर्ष समेत खानेपानी माग गरेका छौ नगरपालिकाले समस्या समाधान गरीदिए दुखका दिन हट्ने लास्कुबासीको माग छ ।
दार्चुला सदरमुकाम खलंगामै वर्षौपहिले थोरै जनसंख्यालाई लक्षित गरेर खानेपानी आयोजना सञ्चालन भएपछि बढ्दो जनसंख्या र सहरीकरणका कारण खानेपानीको अभाव भएको छ । खानेपानी समस्याको दिगो समाधानका लागि नगरपालिकाले योजना बनाइरहेको नगरप्रवक्ता पुस्करराज जोशीले बताए । नगरपालिकाले खानेपानी समस्या समाधान नगरेको प्रति जनगुनासो बढ्दै गएको छ ।
पाँच दिनदेखि धारामा पानी नआउँदा खानेपानी भर्न सदरमुकाम छेउ पुगेका स्थानीयहरु ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार