१० श्रावण २०८१, बिहीबार

कार्यक्षेत्र बढ्यो, कर्मचारी छैनन्



डडेल्धुरा । कर्मचारी समायोजन अनुसार संघबाट कर्मचारी नआउदा दुई जिल्ला हेर्नेगरि स्थापना भएका कार्यालयमा कर्मचारी अभाव देखिएको छ ।
दुई वर्ष बित्दापनि प्रदेश सरकार मातहत रहेका डडेलधुरा जिल्लाका कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र डडेल्धुरामा कर्मचारीको अभाव रहेको छ ।
डडेल्धुरा र डोटी दुई जिल्ला कार्यक्षेत्र रहेका कार्यालयहरुमा कर्मचारीको अभाव हुँदा सेवा प्रवाहमा समस्या देखिएको कृषि ज्ञान केन्द्र डडेलधुराका बरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर बिष्टले बताए । उनले भने ‘कृषि ज्ञान केन्द्रमा छ जना अधिकृत स्तरको दरबन्दी भएपनि हामीसंग एक जना अधिकृत मात्र उपलब्ध रहेको छ ।’
पाँच जना विज्ञ कर्मचारीको अभावले गर्दा किसानहरुलाई सुलभ र सहज रुपमा सेवा प्रदान गर्न समस्या देखिएको अधिकृत बिष्टले बताउनुभयो । दरबन्दी अनुसार कुल १७ जनाको स्वीकृत दरबन्दि रहेको कृषि ज्ञान केन्द्र डडेलधुरामा अहिले नौ जना मात्र कर्मचारी रहेका छन् । कर्मचारी अभाव हुँदा कार्यालयले प्रवाह गर्ने सेवामा पनि समस्या सृजना भएको छ ।
जिल्ला सदरमुकाम स्थित भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा पनि कर्मचारीको अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ । १२ जना विज्ञको स्वीकृत दरबन्दी भएको सो केन्द्रमा तीन जना विज्ञ प्राविधिक कर्मचारीहरुको अभाव रहेको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र डडेल्धुराका पशु विकास अधिकृत खडक शाहले बताए । आवश्यक कर्मचारी पदपुर्तिका लागि प्रदेश सरकारलाई जानकारी गरेको भएपनि सुनुवाई नभएको पशु विकास अधिकृत शाहले बताए । डडेलधुरामा ठूलो महामारी आउदा जनशक्ति अभावका कारण किसानले क्षति व्यहोर्नु परेको अधिकृत शाहले बताए ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डडेल्धुरामा १३ जना कर्मचारीको दरबन्दी रहेकोमा हाल नौ जना मात्रै रहेका छन् । डडेल्धुरा र बझाङ जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयमा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको कार्यालय प्रमुुख रविन श्रेष्ठले बताए । किसानसंग प्रत्यक्ष सरोकार राख्ने तीनवटै कार्यालयको कार्यक्षेत्र दुई जिल्ला रहेको भएपनि दरबन्दी अनुसारका कर्मचारी नभएपछि दैनिक सेवाप्रवाहमा समस्या आएको छ ।
दुई जिल्ला कार्यक्षेत्र भएका कार्यालय मात्र नभएर डडेल्धुराका स्थानीय तहमा पनि कर्मचारी अभाव कायमै रहेको छ । दुई नगरपालिका र पाँच वटा गाउँपालिका रहेको डडेल्धुराका सातवटा स्थानीय तहमा कर्मचारीको अभाव रहेको छ । स्थानीय तहमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा एउटै कर्मचारीले एकभन्दा बढी ठाउँको जिम्मेवारी निर्वाह गर्नु परिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्
विशेष समाचार